News

भीम रावलले प्रतिनिधि सभाको रोष्ट्रम नै कब्जा गरेपछि...

भीम रावलले प्रतिनिधि सभाको रोष्ट्रम नै कब्जा गरेपछि...

नेकपा एमालेका सांसद भीमबहादुर रावलले बुधवार प्रतिनिधि सभाको रोष्ट्रम नै कब्जा गरेका छन् । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै उनले सरकारलाई रुलिङ गर्न माग गर्दै रोष्टम कब्जा गरे।

मन्त्रिपरिषदले एसपीपीमा सहभागी नहुने निर्णय गरिसकेको अवस्थामा पत्राचार गर्न कसले र किन रोकेको ? भन्दै उनले लगातार सदनमार्फत सरकारलाई रुलिङ गर्नुपर्ने माग जारी राखे । सभामुखले पटक–पटक आशन गर्न आग्रह गरे पनि रावलले रोष्ट्रम छोड्न मानेनन।

बैठकमा, ग्लोबल ग्रिनग्रोथ इस्टिच्यूटको सहभागितामूलक सदस्यको रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौतामाथिको प्रस्तावमा धारणा राख्न रोष्ट्रममा पुगेका सांसद रावलले एसपीपीको विषय उठाएर सरकारलाई रुलिङ गर्न माग गरेका हुन् । उनले सरकारलाई सहयोग गर्नका लागि नै आफूले यस्तो माग राखेको बताए ।

प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाड र परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपीपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको बताउँदै उनले सदनमार्फत सरकारलाई रुलिङ गर्न माग गरे ।

सभामुख अग्निप्रसाद सापकोटाले पटक–पटक विषयान्तर भएको भन्दै सांसद रावललाई आशन ग्रहण गर्न आग्रह गरे । पटक पटकको आग्रहलाई पनि उनले अस्वीकार गरेपछि बैठक नै स्थगित गर्नु परेको थियो। 

भीम रावल

विशेष