News

मन्त्री वलीले पैसाका लागि एकराजकी श्रीमती र छोरी कुटेको छानविन समितिको निस्कर्ष

मन्त्री वलीले पैसाका लागि एकराजकी श्रीमती र छोरी कुटेको छानविन समितिको निस्कर्ष

वाईसिएल कार्यकर्ता एकराज वस्नेतले सापटी पैसा फिर्ता नगर्दा लुम्बिनी प्रदेश सरकारकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला खत्री वलीले आवेगमा आएर उनका श्रीमती र छोरालाई कुटपिट गरेको प्रतिवेदन छानबिन समितिले बुझाएको छ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा नेतृत्वको छानबिन समितिले मुख्यमन्त्री कुलप्रसाद केसीलाई वुझाएको प्रतिवेदनमा विवादित व्यक्तिको घरमा गएर वलीले पदीय मर्यादा विपरीत आवेगात्मक कमजोरी गरेको उल्लेख छ।

विमलाले एकराजसँग साढे ६ लाख रुपैयाँ सापटी दिएको रकम फिर्ता लिनुपर्ने छानबिनमा खुलेको संयोजक शर्माले बताए । उनले भने–‘अन्य उपायबाट गर्नुपर्दथ्यो। सापटी लगेको रकम फिर्ता नगर्दा राज्यमन्त्री वलीबाट आवेगात्मक कमजोरी हुन गएको देखियो।’

मुख्यमन्त्री केसीले भने मन्त्रीलाई बदनाम गर्न सुनियोजित ढंगले घटना भएको विषय पनि उठेकाले त्यसको पनि छानबिन गरिने बताए । एकराजले घरमै छु भनेर बोलाएको तथा घरमा जाँदा उनी नभर आफन्त र पत्रकार पगेको लगायतका विषयले सुनियोजित तरिकाले बदनाम गर्न खोजिएको कुरा पनि उठिरहेको वताउँदै उनले प्रतिवेदनको अध्ययनपछि आवश्यक कदम चाल्ने जानकारी दिए ।

राज्यमन्त्री वलीले जेठ ३१ गते दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी बस्नेत र उनकी छोरीमाथि हातपात गरेकी थिइन् । उक्त घटना छानबिनका समिति गठन गरेको थियो ।

घटना भएलगत्तै प्रहरी नियन्त्रणमा रहेकी राज्यमन्त्री वलीलाई मुख्यमन्त्रीकै निर्देशनमा बुटवल ल्याई अस्पताल भर्ना गरिएको थियो। तर, अस्पतालबाट प्रहरीले उनलाई नियन्त्रणमा नलिई घर पठाएको थियो।

विवादमा आएपछि राज्यमन्त्री वलीले असार १२ गते राजीनामा दिएकी थिईन भने १५ गते राजीनामा स्वीकृत भएको थियो । मन्त्रीको कमजोरी भेटिएकाले राजीनामा दिन लगाएर मात्रै प्रतिवेदन सार्वजनिक गरिएको श्रोतको दाबी छ । उनलाई जोगाउन मुख्य मन्त्री केसी नै चलखेलमा लागेको कतिपयको आरोप छ।

नेकपा एमालेबाट निर्वाचित श्रीमान उत्तरकुमार ओलीको निधन भएपछि बिमलाले तत्कालिन नेकपाबाट दाङको ३ को (ख) बाट उपनिर्वाचनबाट निर्वाचन जितेकी थिइन् । २०७७ साल फागुन २३ गते सर्वोच्चले नेकपा खारेज गरेपछि बैशाख १९ मा उनले माओवादी केन्द्र रोजेकी थिइन् । उनी माओवादीबाटै राज्य मन्त्री बनेकी थिईन।

नेकपा एमालेले दुई महिना अघिसम्म सूर्य चुनाव चिह्नबाट निर्वाचन लडेर पार्टी निर्णय विपरीत माओवादीमा गएको भन्दै कारवाहीको माग गर्दै प्रदेशसभा अवरुद्ध गर्दै आएको थियो । वलीसहित स्वतन्त्र तर सूर्य चुनाव चिह्नबाट निर्वाचन जितेका अर्का मन्त्री अजय शाहीको विरुद्धको मुद्धा सर्वोच्चमा विचाराधीन छ । 
 

एकराज वस्नेत बिमला खत्री वली

विशेष