News

प्रचण्डलाई ‘बाल’ नदिएका मोदीले स्वर्णिम वाग्लेलाई भेटे !

प्रचण्डलाई ‘बाल’ नदिएका मोदीले स्वर्णिम वाग्लेलाई भेटे !

केही दिनअघि तीन दिने भारत भ्रमणमा गएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेसँग भने भेटवार्ता गरेका छन् ।

मोदीलाई भेटेको फोटो वाग्लेले फेसबुकमार्फत सार्वजनिक गरेका छन् । १० दिनअघि दिल्लीमा केही अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरूलाई भेट्ने क्रममा मोदीले वाग्लेलाई भेटेको जनाईएको छ। वाग्लेको यो फोटो र जानकारी सार्वजनिक भएपछि फेरी दाहाललाई भेट नदिएको प्रसंग ताजा भएको छ।  

सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणमा असार ३१ गते तीन दिने भारत भ्रमणका लागि दिल्ली पुगेका दाहाल जसरी पनि भारतीय प्रधानमन्त्री मोदीसँग भेट्न चाहान्थे। उनले भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै मोदीसँग भेट गर्ने घोषणा गरेका थिए ।

यसले के देखाउँछ भने दाहाललाई भारत जानुअघि मोदीसँग भेट हुने आश्वासन दिइएको थियो । तर उनले भनेजस्तै ‘लास्ट आवरमा’ मात्रै भेट हुन नसक्ने जानकारी दिइयो । विश्वस्त स्रोतका अनुसार पनि दाहाललाई दिल्ली भ्रमणका लागि प्रस्ताव आएपछि उनले मोदीसँग भेट हुने सुनिश्चितता खोजेका थिए ।

किनकी उनले त्यस्तो बेला भारत भ्रमणमा जानु परेको थियो, जुन बेला अर्को छिमेकी मुलुक चीनको कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुखले नेपाल भ्रमण गरेको २४ घण्टा पनि बितिसकेको थिएन । त्यसमाथि आम चुनावको पूर्वसंध्यामा भारत भ्रमण गर्दा राजनीतिक रुपमा जाने सन्देश पनि त्यस्तै थियो । तर, भ्रमणको तेश्रो दिनसम्म पनि उनले मोदीलाई भेट्न पाएनन्। अन्तिम दिन साउन १ गते अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा भेटपछि मोदीसँग भेट हुने कार्यक्रम वनाईए पनि अन्तिम समयमा भारतले दाहाललाई ‘सरी’ भनेर फिर्ता पठायो।

मोदीले दाहालसँग किन भेट गरेनन् भन्ने अहिलेसम्म खुलाईएको छैन। तर, यो भ्रमणलाई लिएर विभिन्न कोणबाट टीकाटिप्पणी भईरहेको छ। उत्साहका साथ भारत भ्रमणमा गएका दाहाललाई मोदीले भेट नदिएपछि उनको भ्रमणका बारेमा प्रश्न शुरु भएका छन ।

दाहालले भारत जानुअघि आफू चीन भ्रमण गर्न इच्छुक रहेको बताएका थिए। उनको यो अभिब्यक्तिले ‘भारत भ्रमण गरेपनि चीनलाई प्राथमिकता दिएको’ रुपमा विश्लेषण गरेर मोदीले भेट नदिएको एकथरि विश्लेषकहरुले बताउँदै आएका छन् ।

भारत र चीनबीचको सत्रुतापूर्ण सम्बन्ध रहेका बेला दाहालले आफू भारत भ्रमण लगत्तै चीन जाने कुरा बताउनुले भारतले उनलाई खासै महत्व नदिएको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् ।

अर्कोतर्फ दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने र नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गर्नुपर्ने कुरा उठाएका थिए। प्रवुद्ध समुहको प्रतिवेदन वुझ्न भारतले अनिच्छा देखाईरहेको वेला दाहालले सोही कुरा उठाएपछि मोदीले उनलाई भेट नचाहेको हुन सक्ने कतिपयको विश्लेषण छ।

‘फाउन्डेसन फर पब्लिक अर्वानेस एन्ड पोलिसी’ले असार ३२ गते दिल्लीमा आयोजना गरेको कार्यक्रममा कूटनीतिक संवादमार्फत दुई मुलुकबीच देखिएका समस्या समाधान गरेर जान उनले यी दुई विषय उठाएका थिए ।

भेटघाटका सुचि वनाएर पनि दाहाललाई भेट नदिएका मोदीले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष वाग्लेलाई भने भेट दिएका छन् ।

‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदमै आएर भन्नुभएको थियो, Highways, Infoways & Transways (HIT) अर्थात् पूर्वाधार, डिजिटल अर्थतन्त्र र ऊर्जा प्रसारणबाट द्रूत विकास गर्ने पहलमा भारतको साथ हुनेछ। १० दिनअघि दिल्लीमा केही अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरूलाई भेट्ने क्रममा मैले यो प्रसङ्ग उठाउँदा मोदीजी मुस्कुराउनुभयो ।’ 

नरेन्द्र मोदी पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वर्णिम वाग्ले

विशेष