News

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव हटाईए

नेकपा एकता राष्ट्रिय अभियानको संयोजकबाट वामदेव हटाईए

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई अभियानमा आबद्ध चार वटा पार्टीको बहुमतबाट निष्कासन गरीएको छ। गौतमको पार्टीमा विभिन्न चार घटक मिसिएका थिए । 

युवराज सफल नेतृत्वको समाजवादी केन्द्र नेपाल, कृष्णगोपाल बन्जारा नेतृत्वको आधुनिक नेपाल समाजवादी पार्टी, मिननाथ देवकोटा नेतृत्वको नेकपा राष्ट्रवादी र नीलकण्ठ पौडेल नेतृत्वको आम नेपाली पार्टी अभियान पार्टीमा आवद्ध थिए ।

नेकपा राष्ट्रिय एकता अभियान पार्टीमा आबद्ध तिनै घटकका ११ जना नेताहरूले शनिवार विज्ञप्ति जारी गर्दै गौतमलाई संयोजकबाट हटाईएको घोषणा गरेका हुन। पार्टी एकीकरणको एक सातामै ती दलका नेताहरूले अभियानको ६९ सदस्यीय केन्द्रीय समितिको बहुमत आफूहरूसँग रहेको भन्दै गौतमलाई संयोजकबाट हटाएर युवराज सफललाई संयोजक बनाइएको घोषणासमेत गरेका छन्।

गौतममाथि सांगठनिक अराजकता, तानाशाही शैली र अराजनीतिक व्यवहार प्रस्तुत गरेको तथा आफूहरूको आडमा शक्ति बनाई त्यसको चरम दुरुपयोग गरेको आरोप उनीहरूले लगाएका छन् । 

नेता गौतमका स्वकीय सचिव दीपक टमाटाले भने उनीहरूले नेता गौतमलाई कारबाही गरेको नभएर उनीहरूले नै राजीनामा दिएको र उक्त राजीनामा शुक्रबारको सचिवालय बैठकले स्वीकृत गरिसकेको जनाएका छन्।

गौतमले गत शुक्रबार ६९ सदस्यीय नेकपा राष्ट्रिय एकता अभियान पार्टी घोषणा गरेका थिए । 


नेकपा एकता राष्ट्रिय अभियान

विशेष