News

रामचन्द्र पौडेलको चिन्ताः कम्युनिष्टहरु कांग्रेसलाई एक्ल्याउने षडयन्त्र गर्दैछन्

रामचन्द्र पौडेलको चिन्ताः कम्युनिष्टहरु कांग्रेसलाई एक्ल्याउने षडयन्त्र गर्दैछन्

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरु एक भएर कांग्रेसलाई एक्ल्याउने षड्यन्त्र भइरहेको बताएका छन्। शुक्रवार हेटौंडामा सुरु भएको नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै पौडेलले यस्तो बताएका हुन्।

नेपालका कम्युनिष्टहरु र अन्तर्राष्ट्रिय शक्तिहरु एक भएर नेपाली कांग्रेसलाई एक्ल्याउन र लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र भईरहेको वताए । माओवादी, एकीकृत समाजवादी लगायतका कम्युनिष्ट दलहरु कम्युनिष्ट एकता गरेर अघि बढ्ने योजनामा रहेको बताएका पौडेलले नेपाललाई अहिले स्थिरता, सुशासन र विकास चाहिएकोले आगामी चुनावसम्म नै गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताए।

‘कम्युनिष्टहरुले देश चलाउन सकेनन्। त्यसकारण भोलिको चुनावसम्म पनि गठबन्धनको आवश्यक्ता छ। नेपाली कांग्रेसभित्र पनि अहिले कम्युनिष्टसँग मिल्नुहुँदैन भन्ने छ भने कम्युनिष्टहरु भित्रपनि कम्युनिष्ट एकताको कुरा छ’ उनले भने–‘माओवादी भित्रपनि एकथरी कम्युनिष्ट एकता गर्नुपर्छ भन्नेमा छन्। समाजवादी पार्टीभित्र पनि कम्युनिष्ट एकता गर्नुपर्छ भनेर जोड दिइरहेका छन्। अन्तर्राष्ट्रिय शक्तिहरु पनि कम्युनिष्टलाई एकै ठाउँमा राख्नुपर्छ भनेर लागेका छन्।’

नेता पौडेलले कांग्रेसलाई एक्लो पारेर यो मुलुकमा अरु सबैलाई एकै ठाउँमा राखेर महागठबन्धन गराउने कोशिहरु भइरहेको पनि खुलासा गरे। ‘यो प्रयास नेपाली कांग्रेस र प्रजातन्त्रलाई कमजोर पार्ने कोशिस हो भनेर बुझ्न जरुरी छ’ उनले भने–‘हामीले चुनावी तालमेल मात्र गरेका हौँ भन्ने कुरा सबैले बुझ्नुपर्छ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन आफूले लेखेको’ भन्ने कुरा झुटो भएको पनि दाबी गरे। ओलीले असार २४ गते एक कार्यक्रममा ज्ञानेन्द्र शाहले गरेको सम्बोधन आफूले ड्राफ्ट गरेको दाबी गरेका थिए।

पौडेलले ‘नाटकीय रुपमा फलानो रुखमुनि बसेर सम्बोधन ड्राफ्ट गरेको’ भन्ने अभिब्यक्ति  दिएको भन्दै त्यसबेला ओली कुनै आन्दोलनमै नरहेको दाबी गरे। ‘राजाले गरेको घोषणालाई हामीले संसद सुचारु भएको छैन भनेर हामीले आन्दोलन गरेका थियौँ। तर त्यो आन्दोलनमा उहाँ कहाँ हुनुहुन्छ मलाई थाहा छैन’ पौडेलले भने–‘राजाका सचिव महाराजगञ्जमा आएर तीनपटकसम्म हामीले सच्याउँदै अनि राजाले जारी गरेको घोषणालाई केपी ओलीले मैले लेखेको वक्तव्य भनेर भने। त्यस्तो किसिमको झुटो सूचना जनतालाई दिने?’
 

रामचन्द्र पौडेल

विशेष