News

‘हाताहाती नागरिक्ता दिने विधेयक कसलाई  खुशी पार्न ल्याइयो ?’

‘हाताहाती नागरिक्ता दिने विधेयक कसलाई  खुशी पार्न ल्याइयो ?’

नेकपा एमालेकी सांसद गंगा चौधरीले सरकारले ल्याएको नागरिक्ता ऐन विरुद्ध आक्रामक अभिब्यक्ति दिएकी छिन् । उनले ‘नेपाली नागरिकसँग विवाह गरेकी विदेशी महिलालाई हाताहाती नागरिक्ता दिने ब्यवस्था कसलाई खुसी पार्न ल्याईएको हो ?’ भन्दै प्रश्न गरेकी छिन् ।

शुक्रवारको संसद बैठकमा चौधरीले सरकारले संसदमा प्रस्तुत गरेको नागरिकता ऐनले देशलाई फिजिको बाटोमा लैजाने खतरा रहेको वताईन। 

‘विवाह गरेर आएको भोलिपल्टै नेपाली नागरिकता दिइहाल्ने प्रावधान हाम्रो देशको हित विपरित छ’ उनले भनिन्–‘कसलाई खुशी पार्नका लागि यो देशलाई फिजीतिर लैजान खोजिएको हो ?’ नागरिकतालाई हल्का विषयको रुपमा लिन नहुने उनको भनाई छ। ‘हामीले सार्क मुलुकमै हेर्न सक्छौं । भारत, बंगलादेश, माल्दिभ्स, भुटान लगायत कुनै पनि सार्क मुलुकमा विदेशी महिला विवाह गरेर आउनासाथ नागरिकता दिइहाल्ने प्रावधान छैन’ उनले भनिन्–‘हाम्रो देशमा चाहीँ देशमा विवाह गरेर आउनेबित्तिकै एकै दिनमा नागरिकता दिने प्रावधान कसलाई रिझाउन ल्याइएको हो ? कसको कुर्सी जोगाउनका लागि यो देशलाई फिजितिर लगिँदैछ ?’

०५७ सालमा गिरिजाको पालामा राज्य व्यवस्था समितिबाट अर्थ विधयेकमा घुसाएर नागरिकता सम्वन्धी विधयेक प्रतिनिधिसभाबाट पारित गरिएको भन्दै उनले उक्त विधयेक राष्ट्रिय सभाबाट फिर्ता भएको स्मरण गराईन।

‘फेरि दोस्रोपटक प्रतनिधिसिभाबाट विधेयक पारित गरियो । त्यसपछि लालमोहरका लागि दरवार पुग्यो’ उनले भने–‘तर, तत्कालीन राजा विरेन्द्रले त्यसलाई अदालतमा राय सुझाव माग्न पठाएका थिए । अनि, सर्वोच्च अदालतले ऐन खारेज गरिदिएको थियो ।’

माओवादी जनयुद्धपछि भएको १२ बुँदे सम्झौताका कारण ०४७ सालयता जन्मेका ४० लाख विदेशीहरुले नेपाली नागरिकता लिएको उनको दावी छ । ‘उनीहरुबाट जन्मेका कति छन्, हिसाब छैन । विदेशी नागरिकका सन्तानलाई पनि नेपालको वंशजको नागरिकता दिने गरी विधयेक ल्याइएको छ । यसले देशलाई कता पुर्याउँछ, म गृहमन्त्रीज्यूलाई प्रश्न गर्न चाहन्छु ।’ उनले भनिन्।

१० वर्षको जनयुद्ध विदेशीलाई खुशी पार्नका लागि भएको थियो, जनताले त्यसैका लागि बलिदानी गरेका हुन् ? भन्दै उनले प्रश्न गरिन। 

गंगा चौधरी

विशेष