हेलिकप्टर उडानको अनुमती नपाउँदा गोरखामा विरामीको मृत्यु

हेलिकप्टरबाट विरामीको उद्वार गर्न पनि जिल्ला प्रशासन कार्यालय, गृह र परराष्ट्र मन्त्रालयको अनुमती चाहिने ब्यवस्थाका कारण गोरखामा शुक्रवार एक विरामीको मृत्यु भएको छ। बिहीबारदेखि बिरामी भएकी चुमनुब्री गाउँपालिका–६ की २१ वर्षीया मिङ्मा छेन्जोम लामाको मृत्यु भएको हो।
जिल्ला प्रशासन कार्यालय गोरखाले अनुमती दिएपनि गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र नागरिक उड्डयन मन्त्रालयबाट अनुमति नआउँदा उपचार गर्न नपाई किशोरीको मृत्यु भएको जनाईएको छ। हेलिकप्टर कुर्दाकुर्दै शुक्रबार दिउँसो उनको मृत्यु भएको वडाध्यक्ष सरोज लामाले बताए।
मुटु दुख्यो भनेर छटपटाइरहेकी किशोरीलाई उपचारका लागि लैजान जिल्ला प्रशासन कार्यालय गोरखाले शुक्रवार बिहान ८ बजे हेलिकप्टर उडान अनुमति दिएको थियो। तर, मन्त्रालयहरूबाट अनुमति नपाउँदा किशोरीको मृत्यु भएको उनको भनाई छ।
स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारबाहेक नहुने र काठमाण्डौं नै लानु पर्ने वाध्यता भएर हेलिकप्ट हेलिकप्टर उडाउनको अनुमती माग्दा प्रक्रिया मिलाउँदा मिलाउँदै उनको मृत्यु भएको लामाले जानकारी दिए ।