नेपालमा फेला परेको ओमिक्रोनको नयाँ सब–भेरिअन्ट कति घातक ?
नेपालमा कोभिड पुष्टि हुने दर फेरि बढिरहेको बेला ओमिक्रोन कोरोनाभाइरसको नयाँ उपप्रकार (सब–भेरिअन्ट) पनि फेला परेको अधिकारीहरूले पुष्टि गरेका छन्। उक्त कोरोनाभाइरस निकै सङ्क्रामक भएको बताइन्छ।
धुलिखेल अस्पतालस्थित प्रयोगशालामा जीन सीक्वन्सिङ गर्दा ओमिक्रोन बीए फाइभ भेरिअन्टको नयाँ उपप्रकार बीएफ वन नेपालमा पनि देखा फैलिएको पुष्टि भएको हो। ओमिक्रोनको यो उपप्रकार पहिलो पटक गत जुन महिनामा मात्र पहिचान भएको थियो। धुलिखेल अस्पतालको अनुसन्धान प्रयोगशाला प्रमुख एवं सङ्क्रामक रोगविज्ञ डा. राजीव श्रेष्ठका अनुसार बीएफ वन ओमिक्रोन बीए फाइफभन्दा झन्डै ३५ प्रतिशत बढी सङ्क्रामक हुन्छ।
‘दुई जना सङ्क्रमितको नमुना परीक्षण गर्दा नयाँ उपप्रकार देखियो। यो निकै सङ्क्रामक छ भन्ने कुरा अध्ययनहरूले देखाएका छन्। तर यसले बिरामीलाई कति गम्भीर बनाउँछ त्यो थाहा छैन’ उनले भने। अहिलेसम्म बनेका कोभिड खोपहरू उक्त कोरोनाभाइरसले गराउने सङ्क्रमणविरुद्ध कति प्रभावकारी छन् भन्ने कुरा यकिन नभएको डा. श्रेष्ठले बताए। यसबारे भर्खर अध्ययन सुरु भएको उनको भनाइ छ।
विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएओले पनि बीएफ वनसहितका ओमिक्रोनका अन्य प्रकारहरूलाई ‘भेरिअन्ट अफ कन्सर्न’ अर्थात् ‘चिन्ताजनक भेरिअन्ट’ को रूपमा सूचीकृत गरेको छ। ‘यो नयाँ उपप्रकार बढी सङ्क्रामक भएकाले यसलाई चिन्ताको विषय मानिएको हो। यद्यपि यो कति घातक छ र खोपविरुद्ध काम गर्छ कि गर्दैन भन्ने कुरा तीनदेखि चार महिनापछि मात्र थाहा हुन्छ’ डा. श्रेष्ठले भने।
अहिले फैलिरहेको कोरोनाभाइरस कुन हो?
नयाँ उपप्रकार पहिचान भए पनि अहिले ओमिक्रोन बीए फाइभबाट सङ्क्रमित भएका बिरामीको संख्या सर्वाधिक भएको विज्ञहरू बताउँछन्। दक्षिण अफ्रिकाबाट फैलिन थालेको यो सब–भेरिअन्टले युरोप र अमेरिकामा सबैभन्दा बढी सङ्क्रमण गराउन सक्ने ठानिएको थियो।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुको क्लिनिकल रिसर्च यूनिटका प्रमुख डा. शेरबहादुर पुनका अनुसार यो धेरै कडा किसिमको हुँदैन। यसको सङ्क्रमण हुँदा बिरामीका देखा पर्ने लक्षण ओमिक्रोन सङ्क्रमितमा देखा पर्नेभन्दा भिन्न नभएको उनी बताउँछन्।
उनका अनुसार बाहिर भएका अध्ययनहरूलाई आधार मान्ने हो भने यो ओमिक्रोनको ‘अन्य प्रकारभन्दा कडा’ छैन। यद्यपि डा. राजीव श्रेष्ठका अनुसार भने खोप लगाएका मानिसमा सङ्क्रमण भएकाले यसको ठूलो असर नदेखिएको हो।
ओमिक्रोन बीए फाइभ ओमिक्रोनसँग किन सतर्क हुनुपर्छ
धेरै मानिसमा विगतमा भएको सङ्क्रमण र खोपका कारण रोगप्रतिरोध क्षमता विकास भएको र सङ्क्रमणलाई कम जोखिमपूर्ण बनाएको हुनसक्ने उनले बताए। ‘सुरक्षित रहनको लागि सबैले दुईवटा नियमित र एउटा अतिरिक्त मात्रा खोप लगाउनुपर्छ। खोप नलगाएका र दीर्घरोगीहरू चाहिँ नयाँ उपप्रकारहरूको सङ्क्रमण र त्यसले निम्त्याउने दुष्प्रभावको जोखिममा रहन्छन्’ उनले भने।
अस्पताल भर्ना हुने बिरामीको संख्या र सङ्क्रमणका कारण मृत्युदर कम भए पनि रोगप्रतिरोध क्षमता कम भएका मानिसमा सङ्क्रमणले हानि गर्ने उनले बताए।
कसरी बन्छ नयाँ भेरिअन्ट?
भाइरस पुनरुत्पादन हुने क्रममा त्रुटि हुँदा त्यसबाट आनुवंशिक संरचनामा परिवर्तन हुन्छ। फलस्वरूप उही भाइरसका नयाँनयाँ प्रकार बन्न जाने विज्ञहरू बताउँछन्। यस्ता उत्परिवर्तनका कारण भाइरस जीवित रहने सम्भावना रहन्छ भने त्यो भेरिअन्ट फस्टाउन पुग्छ।
कोरोनाभाइरस जति धेरै समय मानिसको शरीरमा रहन्छ त्यति नै त्यसको प्रतिकृति बन्ने अवसर हुन्छ। त्यसले उत्परिवर्तनको सम्भावना पनि बढाउँछ।
नेपालमा कस्तो छ कोभिडको अवस्था?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार जारी गरेको विवरणअनुसार नेपालमा सक्रिय सङ्क्रमितको संख्या २,५०० नाघेको छ। तीमध्ये अधिकांश काठमाण्डूमा छन्। गत असार पहिलो सातादेखि सङ्क्रमण पुष्टि हुने दर क्रमशः बढ्न थालेको तथ्याङ्कले देखाउँछ।
मन्त्रालयका अनुसार बिहीवार अपराह्णसम्म आईसीयूमा हुने बिरामीको संख्या १९ थियो। तीमध्ये १७ जना बागमती प्रदेशका अस्पताल र एक–एक जना प्रदेश नं १ र सुदूरपश्चिममा छन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अनुसार त्यहाँ शुक्रवार मध्याह्नसम्म कोभिड भएका छ बिरामी उपचाररत थिए। तीमध्ये तीन जना आईसीयूमा रहेको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए।
‘अस्पतालमा झाडापखाला र सर्पदंशका बिरामीहरू धेरै छन्। केही दिन यता कोभिडका बिरामीको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य मापदण्ड पालन गर्न धेरैले बिर्सिएकाले सबै रोगका बिरामी एकैठाउँ व्यवस्थापन गाह्रो हुन्छ,’ उनले भने।
उनका अनुसार अहिले कोरोनाभाइरस सङ्क्रमितहरूका लागि आईसीयूमै आइसोलेसनको व्यवस्था गरिएको छ। अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेका अनुसार त्यहाँ उपचाररत सङ्क्रमितहरूमध्ये दुई जनालाई अक्सिजन सहायता आवश्यक परेको छ र उनीहरूमध्ये एक जनालाई भेन्टिलेटरबाट निकालिएको हो।
‘सङ्क्रमणसँगै अन्य दीर्घरोग भएकाले एकजना बिरामीलाई अलि गाह्रो भयो। त्यसैले अब नआत्तिई सतर्क रहनुपर्ने देखिन्छ’ उनले भने। अधिकांश बिरामीहरूमा ज्वरो आउने, शरीर दुख्ने, पसिना धेरै बग्ने, रुघाखोकी लाग्ने र घाँटी दुख्ने जस्ता समस्या देखिएको छ। तर त्यस्ता लक्षण देखिएका सबैमा सङ्क्रमण नहुन सक्ने उनको भनाइ छ।
‘धेरैलाई मौसमी रुघाखोकीले सताएको छ। त्यसैले कोभिडको लक्षण ठानेर परीक्षण गराएका युवाहरूमा सङ्क्रमण पुष्टि भएको छैन’ उनले भने–‘कोही बिरामी भइहाले नआत्तिनु र सुरक्षा मापदण्डहरू कडाइका साथ पालन गर्नु नै सङ्क्रमण फैलिन नदिने उपाय हो।’
अनिवार्य मास्क
सङ्क्रमणको नयाँ लहरको जोखिम कम गर्नलाई नेपाल सरकारले समेत आह्वान गरेको छ। स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै सबै कार्यालय, संस्था, सार्वजनिक स्थल र सार्वजनिक सवारीसाधनमा अनिवार्य मास्कको प्रयोग गर्न आग्रह गरेको छ। त्यस्तै सङ्क्रमणविरुद्ध खोप लगाउन समेत आह्वान गरिएको छ।
मन्त्रालयले ‘कोभिड–१९ सम्बन्धी कुनै पनि जिज्ञासा भएमा १११५ मा र चिकित्सकीय सेवा आवश्यक परेमा ११३३ मा सम्पर्क गर्ने’ सुविधा उपलब्ध गराएको छ।
यो सामग्री बीबीसी नेपालीबाट साभार गरिएको हो।