News

नागरिकता विधेयक पारित, यस्ता भए परिवर्तन

नागरिकता विधेयक पारित, यस्ता भए परिवर्तन

नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ। शुक्रबार दिनभर छलफलपछि प्रतिनिधिसभाले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको हो ।

नागरिकता विधेयकको पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी थिए । नेकपा एमाले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले भने नेपाली नागरिक पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई तत्काल नागरिकता दिन नहुने भन्दै विधेयकको विपक्षमा रहे ।

गृहमन्त्री बालकृष्ण खाँणले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुको सन्तान लामो समयदेखि नागरिकताविहीन अवस्थामा रहेकाले यही विषय सम्बोधन गर्न नागरिकता विधेयक ल्याएको बताए । उनले वैवाहिक अंगीकृतका विषयमा दलीय सहमति जुटाएर अघि बढाउन सक्ने बताए ।

यसअघि प्रतिनिधि सभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर सरकारले नयाँ विधेयक दर्ता गराएको थियो। सरकारले ल्याएको विधेयक मार्फत मुख्यतया ३ वटा परिवर्तन भएका छन् । 

अव, जन्मसिद्धका सन्तानले नागरिकता पाउने छन्। विधेयकले जन्मको आधारमा नागरिकता पाएकाका सन्तानलाई नागरिकता प्राप्त गर्न बाटो खोल्ने व्यवस्था गरेको छ। २०४६ सालको चैत मसान्तभित्र नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गर्ने व्यक्तिलाई यसअघि जन्मको आधारमा नागरिकता दिइएको थियो।

नेपालमा झण्डै १ लाख ७० हजार जनाले जन्मसिद्ध नागरिकता प्राप्त गरेका छन्। जन्मसिद्ध नागरिकको सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था अहिलेको संविधानमा छ। 

यसैगरी, विधेयकले आमाको नामबाट मात्र पनि नागरिकता पाइने ब्यवस्था गरेको छ। यसरी नागरिकता पाउन चार वटा शर्त पुरा गर्नुपर्ने छ। नेपालको नागरिक आमाबाट नेपालमा जन्म भएको, नेपालमा नै बसोबास गरेको, बाबुको पहिचान हुन नसकेको र त्यस्तो पहिचान हुन नसकेको भन्दै स्वघोषणा गर्ने व्यक्तिले आमाको नामबाट वंशजको नागरिकता पाउने छन्।

नेपालको नागरिकतासम्बन्धी ऐन २०६३ ले नै कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक भएको अवस्थामा वंशजको नागरिकता प्राप्त गर्न व्यवस्था गरेको थियो। तर यो व्यवस्था सरकारले कार्यान्वयन गरेको थिएन। 

यस्तो स्वघोषणा गरी वंशजको नागरिकता लिएका व्यक्तिको बाबु विदेशी ठहरिएमा भने उक्त नागरिकता रद्द हुनेछ र त्यस्तो व्यक्तिले अंगीकृत पाउने छ।
 
यस्तै, विधेयकले पहिलोपटक गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खोलेको छ। विदेशमा रहेका कुनै पनि नेपालीका बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण भए त्यस्ता व्यक्तिले गैरआवासीय नागरिकता प्राप्त गर्नेछन्। सार्क मुलुकमा रहेका र बसोबास गरेका नागरिकहरूले भने यस्तो नागरिकता प्राप्त गर्न सक्ने छैनन्।

यो पनि,
‘हाताहाती नागरिक्ता दिने विधेयक कसलाई खुशी पार्न ल्याइयो ?’

नागरिकता विधेयक

विशेष