News राजनीति

अरनिको पाण्डेलाई स्वर्णिम वाग्लेले किन भने ‘विश्व नागरिक’ ?

अरनिको पाण्डेलाई स्वर्णिम वाग्लेले किन भने ‘विश्व नागरिक’ ?

वातावरणविद् अरनिको पाण्डेले ललितपुर ३ बाट संसदीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेपछि राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्ले उनलाई अनौठो शुभकामना दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा पाण्डेलाई शुभकामना दिन वाग्लेले प्रयोग गरेका शब्दका कारण कतिपयले ब्यंग्यका रुपमा समेत टिप्पणी गरेका छन् । वाग्लेले पाण्डेलाई नमुना ‘विश्व नागरिक’ का रुपमा चित्रण गरेका छन् ।

‘शुभकामना, अरनिको’ भन्दै वाग्लेले लेखेका छन्– ‘एमआईटीबाट विद्याबारिधी, हार्भडबाट स्नातक, विश्वस्तरका वातावरणविद्। जलवायु परिवर्तनका मुद्दामा नेपालको उत्कृष्ट प्रतिनिधित्व गर्नसक्ने क्षमता, ईमान र लगन। बुवा नेपाली, आमा स्वीस, श्रीमती थाइ भएका डा. पाँडे आँफैमा नमुना ‘विश्व नागरिक’ हुन्। ललितपुर–३ मा तहल्का होस!’

पाण्डेले ललितपुर निर्वाचन क्षेत्र नं. ३ बाट स्वतन्त्र रुपमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएका पाण्डेले अष्ट्रेलियाको मेलबर्न इन्स्च्यिुट अफ मेलबर्न (एआईटी)बाट विद्यावारिधि गरेका छन् । काठमाडौं उपत्यकाको वायू प्रदूषणको अनुसन्धान गरेका उनले सोही विषयमा विद्यावारिधी गरेका छन् ।

यूएनईपी, युएनडीपी, डब्लूएचओ लगायतका अन्तराष्ट्रिय संस्थामा आवद्ध उनले जलवायु परिवर्तन, दिगो विकास, प्रदूषण लगायतका क्षेत्रमा नेपाल, फिलिपिन्स र जापानमा सरकारको सल्लाहकार भएर काम गरेका थिए ।

उम्मेदवारी घोषणा गर्ने क्रममा पाण्डेले जलवायु परिवर्तनले नेपालमा ल्याउने विनाश र दुःखबारे अन्तराष्ट्रिय स्तरमा आवाज उठाउने बताएका छन् । विकासको मोडलको बहसको आवश्यकता देखेर उम्मेदवार बन्न लागेको उनले प्रष्टाएका छन् । उम्मेदवारी घोषणा गर्ने क्रममा उनले भनेका छन्–‘जलवायु परिवर्तन, वातावरण र दीगो विकास जस्ता क्षेत्रमा देश विदेशमा हासिल गरेको दक्षता र अनुभवले देशको सेवा गर्नेछु।’

स्वर्णिम वाग्ले अरनिको पाण्डे

विशेष