संघीयता खारेजीको एजेण्डालाई चुनावी एजेण्डा वनाउने लिङदेनको प्रस्ताव
राप्रपापाका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाण्डौंमा जारी केन्द्रीय समिति बैठकमा संघीयता खारेजीलाई मुख्य एजेण्डा बनाएर चुनावमा जाने प्रस्ताव गरेका छन् ।
विहिवारबाट सुरू भएको केन्द्रीय समितिको बैठकमा लिङदेनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको छ । उनले प्रदेश खारेज गरी केन्द्र र बलियो स्थानीय तहको व्यवस्था कायम गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।
‘समय छँदै हाल कायम संरचनागत कमी–कमजोरी र असफलतालाई सम्बोधन गर्न, विश्वव्यापी अनुभव, सफलतम प्रजातान्त्रिक अभ्यास र नेपाली आवश्यकताको आधारमा, संविधानले दिएको अधिकारको प्रयोगमा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको खारेजी आवश्यक भएको छ’– उनको प्रस्तावमा उल्लेख छ।
प्रजातन्त्रको रक्षा, भ्रष्टाचारको अन्त्य र देशमा स्थीरता कायम राख्न संविधानभित्र परिवर्तन अपरिहार्य भएको उल्लेख छ । रप्रपाले शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधारको पनि वकालत गरेको छ । पूर्ण समानुपातिक संसद र जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्रीको मोडल लिङदेनले प्रस्ताव गरेका छन् ।