डेढ महिनादेखि वेपत्ता किशोरीको हत्या आरोपमा पतिसहित तीन जना पक्राउ
![डेढ महिनादेखि वेपत्ता किशोरीको हत्या आरोपमा पतिसहित तीन जना पक्राउ](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2022/07/hatya-363e3.jpg)
सर्लाहीमा करिव डेढ महिनादेखि वेपत्ता भएकी किशोरीको शव आफ्नै खेतमा गाडिएको अवस्थामा फेला परेको छ। पर्सा गाउँपालिका–१ शीतलपुरकी २० वर्षीया निशा यादव जेठ २२ गतेदेखि वेपत्ता भएकी थिईन। उनको शव शुक्रबार दिउँसो फेला परेको छ।
धान खेतमा खाडल खनेर हेर्दा सडिसकेको अवस्थामा निशाको शव फेला परेको सर्लाहीका एसपी प्रविण पोखरेलले बताए । हत्यामा संलग्न आरोपमा प्रहरीले निशाका श्रीमान् बालदत्त भनिने रमजेशकुमार यादव, ससुरा रामप्रताप यादव र देवर राजु यादवलाई पक्राउ गरेको छ।
स्थानीयका अनुसार दाइजो कम ल्याएको निहुँमा निशाको हत्या भएको आशंका छ। तर, यो विषय प्रहरीले प्रस्ट पारिसकेको छैन। महोत्तरीको सोनमा गाउँपालिका–१ मगरथाना निवासी कैलाश यादवकी छोरी निशाको डेढ वर्षअघि फागुनमा रमजेशसँग मागी विवाह भएको थियो। केटाकेटी र दुवै परिवारबीच राजीखुसीमा विवाह भएको थियो।
तर, पति र परिवारका सदस्यसँग विवाद भएपछि निशाले माइती पक्षलाई खबर गरेकी थिइन्। उनका बुवा निशालाई भेट्न जेठ २२ गते दिउँसो छोरीको घरमा पुगेका थिए। बुवा फर्किएपछि श्रीमानसहितका परिवारका सदस्य मिलेर त्यही दिन राति उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
हत्याराहरूले अपराध स्वीकारिसकेको र उनीहरुले देखाएको ठाउँमा खनेर हेर्दा निशाको शव फेला परेको जिल्ला प्रही कार्यालय सर्लाहीका डीएसपी विजय यादवले जानकारी दिए । हत्यापछि घरबाट करिव चार किलोमिटर टाढा रहेको आफ्नै खेतमा लगेर खाडल खनी उनीहरुले निशाको शव पुरेका थिए। शव पुरेको ठाउँमा उनीहरुले धानसमेत रोपेका थिए। जुन अहिले हरियो भइसकेको छ।
धानको गाभो सरेर हरियो भएको जमिनमा ६ फिट गहिरो र पाँच फिट लामो खाडल खनेर प्रहरीले निशाको सडिसकेको शव निकालेको हो। निशाको हत्या गरेर खाडलमा पुरिसकेपछि पतिसहित परिवारका सदस्यले निशा घरबाट भागेर बेपत्ता भएको भन्दै माइती पक्षलाई खबर गरेका थिए।
जेठ २३ गते बिहान वुवा कैलाश यादव र जेठ २४ गते ससुरा रामप्रताप रायले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा निशा बेपत्ता भएको भन्दै खोजी गरिपाऊँ भनेर निवेदन दिएका थिए। प्रहरीले निशाका पतिसहित परिवारका सदस्यहरुलाई निगरानीमा राखेको थियो।