News स्वास्थ्य

अस्पताल पुग्न नपाउँदै सुत्करी हुन्छन राप्ती गाउँपालिकाका अधिकांश महिला

अस्पताल पुग्न नपाउँदै सुत्करी हुन्छन राप्ती गाउँपालिकाका अधिकांश महिला

दाङको राप्ती गाउँपालिमा स्वास्थ्य संस्था टाढा हुँदा गर्भवती र सुत्केरी महिलाहरुले दुःख पाउने गरेका छन् । यो गाउँपालिकाबाट स्वास्थ्य संस्थामा पुग्न झण्डै २० किलोमिटर पैदल यात्रा गर्नुपर्छ।

गर्भवती महिलाहरु अस्पताल पुग्न नपाउँदै सुत्केरी हुने गरेका छन् । शुक्रबार राप्ती गाउँपालिका–९ चिसापानीकी १९ वर्षीया देवकला बुढा पनि अस्पताल पुग्न नपाउँदै बाटोमै सुत्केरी भएकी छिन् । उनलाई शुक्रबार बिहान सुत्केरी बेथा लाग्यो। परिवार र आफन्तले उनलाई २० किलोमिटरको दुरीमा रहेको प्रस्तावित भालुवाङ अस्पताल लग्ने तयारी गरे। 

देवकलालाई बेथाले च्याप्दै लग्यो। अन्ततः अस्पताल पुर्याउन नपाउँदै देवकलाले बीच बाटोमै बच्चा जन्माइन्। बच्चा जन्मिएपछि बल्ल भालुवाङ अस्पताल पुर्याए। त्यहाँ आमा र बच्चाको स्वास्थ्य परिक्षण गरियो। आमा र बच्चाको अवस्था सामान्य थियो।

कम उमेरमै आमा बनेकी किशोरी रगत अलि बढी बगेर केही समस्या भएको स्वास्थ्यकर्मीहरुले वताए । देवकलाले यो दोस्रो सन्तानको रुपमा बच्चा जन्माएकी हुन्।

देवकला जस्तै पहाडी गाउँका महिलाहरुले यसरी नै गाउँमा स्वास्थ्य संस्था नहुँदा घरमा वा बाटोमा बच्चा जन्माउनु परेको छ। कतिपयको यसैका कारण ज्यान समेत जाने गरेको छ। राप्ती गाउँपालिकाको देवीकोटमा स्वास्थ्य इकाई केन्द्र भए पनि सवैलाई पायक पर्ने ठाउँमा वर्थिङ्ग सेन्टर नहुदा वर्षेनी पहाडी गाउँका स्थानीयहरुले दुस्ख खेप्नु परेको छ। 
 

विशेष