News

अब कैदीबन्दीले पनि बिहे र बच्चा जन्माउन पाउने, गर्भवतीलाई जेलबाहिर बस्ने छुट 

अब कैदीबन्दीले पनि बिहे र बच्चा जन्माउन पाउने, गर्भवतीलाई जेलबाहिर बस्ने छुट 

प्रतिनिधिसभाबाट कारागार विधेयक, २०७८ पारित भएको छ। गृहमन्त्री बालकृष्ण खाँणले कारागार विधेयक, २०७८ लाई पारित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । 

०७६ मंसिर २९ गतेसंसदमा दर्ता भएको ०७८ बैशाख २ गते प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेर सभामा पेश गरेको थियो । आईतवार पारित विधेयक अनुसार कैदीबन्दीले बिहे र प्रजनन अधिकार प्राप्त गर्नेछन् । गर्भवती र सुत्केरीले जेलबाहिर बस्ने छुट प्राप्त गर्नेछन् । खुला कारागारको अवधारणालाई समेत यो विधेयकले समेटेको छ ।

गृहमन्त्री खाणका अनुसार कैदीबन्दीले बिबाह गर्न चाहे त्यतो विवाहले कानुनी मान्यता पाउनेछ । कारागारमा बन्दीको रुपमा रहेका वैध दम्पतीको प्रजनन् अधिकार संरक्षण गर्ने प्रयोजनका लागि तोकिए बमोजिम भेटघाट गर्ने अनुमति दिनु पर्नेछ ।

विधेयकको दफा २८ मा कैदीबन्दीको बिवाह दर्ता सम्बन्धी व्यवस्था छ । एउटै कारागारमा रहेका पुरुष र महिला बन्दी वा कारागारमा रहेको बन्दीसँग कारागारमा नरहेको पुरुष वा महिलाले विवाह गर्न चाहेमा विवाह दर्ताका लागि कारागार प्रशासक समक्ष निवेदन दिने ब्यवस्था छ।

कैदीबन्दीको बिवाह दर्ता हुन सक्ने भनी सम्बन्धित निकायले कारागार कार्यालयलाई लेखी पठाएमा कारागार प्रशासकले विवाह दर्ता गर्ने दिन सम्बन्धित बन्दीलाई सुरक्षाकर्मी साथ लगाई बिवाह दर्ता गर्न जाने अनुमति दिनु पर्ने प्रावधान विधेयकमा छ ।

विधेयकको दफा ३७ मा गर्भवती वा सुत्केरी बन्दीसम्बन्धी व्यवस्था छ । कारागार प्रशासकले गर्भवती वा सुत्केरी बन्दीलाई बसोबास, खानपान र स्वास्थ्य परीक्षणको सम्बन्धमा विशेष व्यवस्था गर्नुपर्ने उल्लेख छ । गर्भ रहेको छ महिना पूरा भएको गर्भवती बन्दीले आफू कारागार बाहिर बसी स्वास्थ्य उपचार गर्न चाहेमा कारागार प्रशासकले निज सुत्केरी भएको साठी दिन पूरा भएको भोलिपल्ट कारागारमा फर्कने गरी कागज गराई तोकिए बमोजिम बैंक जमानत लिई कारागारबाट बाहिर जाने अनुमति दिनु पर्ने ब्यवस्था छ।

बाहिर जान नचाहने गर्भवतीलाई कारागार प्रशासनले राम्रो स्याहारको व्यवस्था गर्नुपर्ने व्यवस्था छ । 
 

कारागार विधेयक

विशेष