News

पहिरोको त्रासले गाउँ नै विस्थापित

पहिरोको त्रासले गाउँ नै विस्थापित

बागलुङमा पहिरोको त्रासका कारण एउटा गाउँ नै रित्तिएको छ। जैमिनी नगरपालिका–१ कुश्मीशेराको टारगाउँका १० घर परिवारले वर्षा लाग्दै गर्दा गाउँ छाडेका छन् ।

०७७ भदौ २८ र २९ गते झरेको पहिराले यहाँका नौ घर पुरेको थियो भने दुई जनाको मृत्यु भयो । यसअघि यो गाउँमा पहिराको त्रास थिएन। तर, एक्कासी गाउँमाथिबाट आएको पहिराले घरबारी र ज्यान नै लिएपछि पुरिएका घरका विस्थापित भए ।

आसपासका घरहरू जोखिमकै कारण विस्थापित भए । गाउँका आधा परिवार विस्थापित भएपछि समुदाय नै मासिएको भन्दै घर छाडेर हिँड्नेको संख्या बढिरहेको छ । कुनै समय निकै चहलपहल हुने टुनिबोट बस्ती पनि अहिले सुनसान छ ।

त्यहाँका ४६ घरमध्ये ३१ घर ताला गगाएर सवै विस्थापित भएका छन् । पछिल्लो समय टुनिबोटमा १५ घरपरिवारमात्रै बसोबास गर्दछन् । उनीहरुसमेत समुदायकै अभावमा गाउँ छाड्ने मानसिकतामा छन् ।

टुनीबोट गाउँबाट विस्थापितहरू चितवन, पोखरा, काठमाडौं र बागलुङ बजारमा बस्ने गरेका छन् । केहीले घर बनाए भने आर्थिक अवस्था कमजोर भएकाहरू भाडामा बसेर ज्यालादारीमा काम गरी छाक टार्छन् । दुई वर्षअघि पुरिएका घरसमेत पुनःस्थापना हुन नसकेकाले विपतका बेला सहयोग नपाइने भन्दै उनीहरू घर छाडेको बताउँछन् ।

त्रासका कारण गाउँ छाडेर हिँडेकाहरूलाई फर्काउन नगरले वैकल्पिक ब्यवस्थाको प्रयास पनि गरेको थियो। पहिरो प्राकृतिक विपद् भएकाले त्यसको न्यूनीकरणमात्रै गर्न सकिने जैमिनी नगरपालिकाका मेयर नरबहादुर पुन बताउँछन्। विस्थापित र बसाइँसराइसँगै स्थानीय सीप, पुँजी र श्रमशक्तिसमेत बाहिरिने हुँदा बसाइँसराइलाई रोक्नुपर्ने स्थानीयवासीको माग छ ।
 

पहिरो

विशेष