News स्वास्थ्य

मंकिपक्स ७५ देशमा फैलियो, विश्वब्यापी स्वास्थ्य आपतकाल घोषणा

मंकिपक्स ७५ देशमा फैलियो, विश्वब्यापी स्वास्थ्य आपतकाल घोषणा

मंकिपक्सको संक्रमण तिव्ररुपमा फैलिएपछि विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको छ। ७५ मुलुकका १६ हजारभन्दा बढी मानिसमा फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वब्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो।

सन् १९५८ मा अनुसन्धानका लागि राखिएका बाँदरहरूमा पहिलो पटक देखिएकाले यो भाइरसको नाम मंकिपक्स राखिएको हो। केही साताअघि नेपालमा पनि एक जनामा मंकिपक्सको संक्रमण भएको आशंका गरिए पनि परीक्षण गर्दा उनमा कुष्ठरोग भएको पुष्टी भएको थियो।

सन् १९७० मा डेमोक्र्याटिक रिपब्लिक अफ कंगोमा पहिलो पटक एक जना बालकमा यो भाइरस देखिएको थियो। त्यसपछि यो रोग मध्य तथा पश्चिम अफ्रिकाका बेनिन, क्यामरून, सेन्ट्रल अफ्रिकन रिपब्लिक, डेमोक्र्याटिक रिपब्लिक अफ कंगो, गाबोन, घाना, आइभोरी कोस्ट, लाइबेरिया, नाइजेरिया, रिपब्लिक अफ द कंगो, सिरालियोन र दक्षिण सुडानमा बेला–बेलामा देखिने गरेको थियो।

यो संक्रमण अहिले विभिन्न माद्यमबाट विश्वब्यापी रुपमा फैलिएको छ। यही अवस्थालाई मध्यनजर गरी डब्लुएचओले मंकिपक्स विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको हो। द न्युयोर्क टाइम्सका अनुसार डब्लुएचओ प्रमुख टेड्रोस अडानोम गेब्रेएससले शनिबार मंकिपक्सलाई ‘पब्लिक हेल्थ इमर्जेन्सी अफ इन्टरनेशनल कन्सर्न’ घोषणा गरेका हुन्।

डब्लुएचओको यो घोषणासँगै अब मंकिपक्सको नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायले आपसमा संयोजन गरी काम गर्नुपर्नेछ। 

विश्व स्वास्थ्य संगठनका अनुसार मंकिपक्सको संक्रमण भएपछि ज्वरो आउने, टाउको, मांसपेशी र मेरूदण्ड दुख्ने, थकान महशुस हुनेजस्ता लक्षण देखिन्छन्। शरीरका विभिन्न भागमा बिमिरा आउने र ती फोका बन्ने यसको अर्को मुख्य लक्षण हो। यी लक्षण गम्भीर खालका भने हुँदैनन्।

मंकिपक्स संक्रमित व्यक्तिको फोका फुटेको छालासँग सम्पर्कमा आउँदा सर्न सक्छ। ¥याल, थुकका छिटाजस्ता तरल पदार्थबाट पनि यो सर्न देखिएको छ। अहिलेका केही संक्रमितमा यौनसम्पर्कका माध्यमबाट पनि यो भाइरस सरेको देखिएको छ।

संक्रमितलाई निको हुन समान्यताया ६ देखि १३ दिन तथा कसैलाई २१ दिनसम्म लाग्न सक्छ। मंकिपक्सको छुट्टै उपचार छैन। चिकित्सकहरूले स्मलपक्सको खोप लगाएका मानिसमा मंकिपक्सको संक्रमणसँग लड्ने एन्टीबडी बनिसकेको हुने बताएका छन्। 

मंकिपक्सको मृत्युदर न्यून छ। नाइजेरियामा ३.३ प्रतिशत संक्रमितको मृत्यु भएको छ।
 

मंकिपक्स

विशेष