News

‘एमसीसीको मतियार– मुर्दावाद’ भन्दै देउवा विरुद्ध सार्वजनिक कार्यक्रमै नारावाजी

‘एमसीसीको मतियार– मुर्दावाद’ भन्दै देउवा विरुद्ध सार्वजनिक कार्यक्रमै नारावाजी

प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको एउटा कार्यक्रममा वोल्न जानै लाग्दा प्रधानमन्त्री शेरबहादुर देउवा विरुद्ध नारावाजी भएको छ। विवादित नागरिकता विधेयक, अमेरिकी सहायता सम्झौता एमसीसीलगायतका विषयमा विरोध जनाउँदै सार्वजनिक कार्यक्रमममै देउवा विरुद्ध नारावाजी भएको हो।

उद्घोषकले मञ्चमा बोलाएपछि कोट मिलाउँदै पोडियमतर्फ अघि बढ्नेबित्तिकै हलको पछिल्लो ढोकातिरबाट ‘नागरिकता विधेयक खारेज गर, खारेज गर’ भन्दै प्लेकार्डसहित एकजना युवकले नाराबाजी सुरु गरेका थिए । त्यसपछि देउवा अक्क न बक्क भए। तर तत्कालै उनका निजी सुरक्षागार्डले देउवालाई मञ्चतिर लगे।

नाराबाजी गरेका युवकलाई त्यहाँ तैनाथ सुरक्षाकर्मी र स्वयंसेवकले तत्कालै नियन्त्रणमा लिए तर नियन्त्रणमा लिँदा पनि ती युवकले देउवाविरुद्ध नारा लगाइरहे। त्यसपछि अर्का व्यक्तिले ‘एमसीसीको मतियार’ भन्दै देउवा विरुद्ध नाराबाजी गरे।

‘एमसीसीको मतियार शेरबहादुर देउवा मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं र स्वाधीनताको रक्षा गरौँ’ लगायतका नारा लगाएका ती व्यक्तिलाई पनि प्रहरीले नियन्त्रणमा लिए । त्यसपछि प्रधानमन्त्री देउवा पोडियममा पुगेर आफ्ना कुरा राखेर कार्यक्रमस्थलबाट बाहिरिए। 

विदेशबाट बिहे गरेर आउने महिलालाई तत्कालै नागरिकता दिने गरी बनेको नागरिकता विधेयक संघीय संसदको तल्लो सदनबाट पास भएर सोमबार राष्ट्रिय सभामा पनि छलफल भएको छ। नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, खिमलाल देवकोटा लगायतले विधेयकको विरोध गरे भने बामदेव गौतमले सरकारको समर्थन जनाए ।
 

विशेष