News

४ वर्षिया बालिकाको बलात्कारपछि हत्या, ४ जना पक्राउ

४ वर्षिया बालिकाको बलात्कारपछि हत्या, ४ जना पक्राउ

विरगञ्जमा ४ वर्षिया बालिकाको वलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। साउन ५ गतेदेखि नै हराइरहेकी वीरगञ्ज महानगरपालिका–२ छपकैयाँकी ४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरिएको हो।

मृतक बालिका साउन ५ गते बेलुकी साथीहरुसँग घर छेउकै गल्लीमा खेलीरहेकी थिइन् । तर, ७ बजेसम्म बालिका घर नआएपछि खोजतलास सुरु भयो। रातभरी नभेटिएपछि हजुरबुबा मो.मैनुदिन मिया ठकुराईले ६ गते प्रहरीमा खोजतलासको निवेदन निवेदन दिए । यत्तिकैमा छिमेकी १२ वर्षीय बालकले बालिकाको शव झाडीमा रहेको भनी अभिभावकलाई खबर गरे । साउन ७ गते बिहान वीरगञ्ज–२ छपकैयास्थित खाली जग्गाको झाडीमा हेर्न जाँदा बालिकाको शव विभत्स अवस्थामा भेटिएको थियो।

घरका सदस्यहरुले शव घरमा ल्याइसकेपछि बिहान ७ बजेतिर मात्रै प्रहरीले शव भेटिएको खबर पाएको थियो । त्यसपछि वडा प्रहरी कार्यालय विर्ताको प्रहरी टोली अनुसन्धानमा जुटेको थियो। प्रहरीले शव देखाउने बालकलाई नै शंकाको घेरामा राख्यो। प्रारम्भिक सोधपुछमै उनले आफनो संलग्नताको संकेत गरे।

बालिकालाई अपहरणको शैलीमा झाडीमा लगेर पालैपालो बलात्कार गरी हत्या गरेको प्रारम्भिक निष्कर्ष प्रहरीले निकालेको छ । ति बालकले आफू बाहेक अन्य ३ जनाको पनि संलग्नता रहेको बताए। 

बालककै बयानका आधारमा वीरगञ्ज–२ का १९ वर्षीय जफ्रुदिन भन्ने सलमान खान, वडा नं. १६ नगवा बस्ने १८ वर्षीय सलमान खानलाई वीरगञ्जबाट र दिल्ली फरार भएका १७ वर्षीय अभियुक्तलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

साउन ८ गते पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

घटनामा संलग्नमध्ये दुई जना नाबालक छन् भने दुई जनाले संलग्नता अस्विकार गरेको प्रहरीले जनाएको छ। अन्तिम निष्कर्षमा पुग्न थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।
 

बलात्कार

विशेष