News

विमानस्थल निर्माणस्थलको अवलोकन गर्न प्रधानमन्त्रीसहितको टोली निजगढमा

विमानस्थल निर्माणस्थलको अवलोकन गर्न प्रधानमन्त्रीसहितको टोली निजगढमा

प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्न प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् । शनिबार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरमार्फत शीर्ष नेताहरू निजगढ ओर्लिएका हुन् ।

प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत विभिन्न विभागीय मन्त्रीहरू  छन् ।

यसैगरी, अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादव र खानेपानी मन्त्री उमाकान्त चौधरी पनि टोलीमा छन् । शीर्ष नेतासहितको टोली विमानस्थल निर्माणस्थलको अवलोकन तथा कामको प्रगतिबारे जानकारी लिएर आज शनिबारै काटठमाडौं फर्किने कार्यक्रम छ ।

शीर्ष नेताहरूलाई विमानस्थल निर्माण आयोजनाका प्रमुख विजय यादवले ब्रिफिङ गरेका छन् । त्यसअघि शीर्ष नेताले विमानस्थल निर्माण क्षेत्रको हवाई निरीक्षण गरेका थिए ।

विमानस्थलबारे सर्वोच्च अदालतको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् । सर्वोच्चले विमानस्थलको काम अघि नबढाउन आदेश दिएको छ ।

वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा गएका हुन् । अदालतले अहिलेसम्मका सबै प्रक्रिया खारेज गरेको छ भने विज्ञको टोली बनाएर अरु विकल्पमाथि अध्ययन गर्न भनेको छ।

सर्वोच्चको उक्त आदेशबारे प्रायः सबै राजनीतक दलका नेताहरू एक भएका छन् । 
 

विशेष