News

जनार्दन प्रकरणः प्रहरीले रिकभर गर्यो डिलिट भएको अर्थमन्त्रालय सीसीटीभी फुटेज

जनार्दन प्रकरणः प्रहरीले रिकभर गर्यो डिलिट भएको अर्थमन्त्रालय सीसीटीभी फुटेज

अर्थमन्त्रालयले ‘डिलिट भयो’ भन्दै जवाफ दिएको सीसीटीभी फुटेज नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाले रिकभर गरेको छ। बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिलाई प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा उक्त भिडियो समेत संलग्न छ।

अर्थमन्त्रालयको सीसीटीभी फुटेजको भिडियो समितिका सदस्यहरुले हेरिरहेको जनाईएको छ। तर, समितिले खोजे अनुसार जेठ १४ गतेको भिडियो उपलब्ध छ÷छैन भन्ने खुलेको छैन । यसअघि मन्त्रालयले सीसीटीभी फुटेज १३ दिनसम्म मात्र रहने र त्यसपछि डिलिट हुदै जाने भन्दै १४ गतेको भिडियो डिलिट भएको जवाफ दिएको थियो।

समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग समेत परामर्श गर्ने भएको छ । सीसीटीभी फुटेज हेरेका हेरिसकेपछि आजै ४ वजे बैठक बस्ने जनाईएको छ।

संसदीय समितिले सिंहदरबार गेटकै सीसीटीभी फुटेज पनि झिकाएको थियो । आर्थिक वर्ष २०७९÷८० को बजेट प्रतिनिधि सभामा प्रस्तुत गर्नुभन्दा अघिल्लो दिन राती जेठ १४ गते अनधिकृत व्यक्तिलाई मन्त्रालयमा बोलाएर करको दर हेरफेर गरेको आरोप लागेको थियो।

अनाधिकृत ब्यक्ति बोलाउनेमा तत्कालीन मन्त्री जनार्दन शर्मामाथि दोस लागेको छ । बजेटमा करको दर हेरफेर गरिएको भन्ने विषय सार्वजनिक भएपछि सभामुख अग्नि सापकोटाले गत असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेका थिए । सोही दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका थिए ।

छानबिनको क्रममा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने संकेत कतैबाट नपाएपछि सीसीटीभी फुटेज नै अब निर्णायक हुने ठानिएको छ । त्यसैले सीसीटीभी फुटेजमा के छ भन्ने चासो धेरैको छ । तर, फुटेजमा केही फेला नपरे अर्थमन्त्री र सम्वन्धित अन्य ब्यक्तिको कल डिटेल चेक गर्ने विषयमा पनि छलफल भईरहेको छ। यो विषयमा भने माओवादी केन्द्रका सांसदहरुले सहमति जनाएका छैनन्।

यो पनि,

जनार्दन शर्मा संसदीय समिति

विशेष