News

सामुहिक आत्महत्या गरेको भनिएका ३ किशोरीको हत्या भएको आशंका

सामुहिक आत्महत्या गरेको भनिएका ३ किशोरीको हत्या भएको आशंका

झापाको कचनकवल गाउँपालिकामा सामुहिक आत्महत्या गरेको भनिएका तीन किशोरीको हत्या भएको आशंका सुरु भएको छ।

कचनकवल गाउँपालिका–५, पाठामारीका तीन जना किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिगए । पञ्चम गणेशकी १६ वर्षीया छोरी करिना, पुवालु गणेशकी १७ वर्षीया छोरी अञ्जली र वीरबल गणेशकी १७ वर्षीया छोरी कल्पनाको शव आइतबार बिहान फेला परेको थियो ।

विपन्न आदिवासी परिवारका तीनै जना किशोरी चिया बगानका श्रमिक हुन। शनिवार दिउँसैदेखि हिडेका उनीहरु आफैंले काम गर्ने बगाननजिकै बयरको रूखको हाँगामा झुन्डिएको अवस्थामा फेला परेका थिए।

प्रहरीका अनुसार घटनास्थल भारतको सीमानजिकै पर्छ। तीनमध्ये एक किशोरीको फोनमा केही समयअघि भारतीय नम्बरमा सम्पर्क भएको पनि देखिएको छ ।

पाठामारी प्रहरी चौकीका असई भरत कोइरालाले घटना रहस्यपूर्ण भएका बताएका छन् । विकट र अप्ठेरो ठाउँमा उनीहरूको शव भेटिनु र यसरी फोनमा भारतीय नम्वरबाट फोन आउनुले उनीहरुले झुन्डिएर आत्महत्या गरे होलान भन्ने आशंकालाई अन्यत्र मोडन वाध्य पारेको उनले वताए ।

स्थानीय बासिन्दा पनि किशोरीले आत्महत्या गरेको मान्न तयार छैनन् । उनीहरुको हत्या भएको हुन सक्ने उनीहरुको भनाई छ। सीमावर्ती क्षेत्रमा भएको यो घटनामा भारतीयहरूको संलग्नता हुन सक्ने उनीहरु आशंका ब्यक्त गर्छन। 

उनीहरुको पोस्टमार्टम रिपोर्ट आएको छैन। रिपोर्ट आएपछि मात्रै थप कुरा जानकारी हुने प्रहरीको भनाई छ। जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले भने उनीहरुको शरीरमा चोटपटक वा निलडाम केही नदेखिएकाले हत्या नै भएको दाबी गर्ने कुनै आधार नभएको वताए।
 

विशेष