सिद्धबाबालाई बलात्कारी भनेपछि रोशनी शाही पक्राउ

पूर्व सभामुख कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर चर्चामा आएकी रोशनी शाही पक्राउ परेकी छन्। पशुपतिनाथ क्षेत्रमा जारी ‘अतिरुद्र महायज्ञ’मा पुगेर प्रवचनकर्ता बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्ण गिरीविरुद्ध नाराबाजी गरेपछि प्रहरीले शाहीलाई पक्राउ गरेको हो।
शाही मंगलबार पशुपतिनाथ परिसरमा पुगेर गिरीविरुद्ध नाराबाजी गरेकी हुन्। रोशनीले ‘बलात्कारी’ भन्दै गिरीको विरोध गरेकी थिईन। त्यसपछि उनलाई प्रहरीले तत्कालै पशुपति परिसरबाट पक्राउ गरेको हो। उनलाई अहिले महानगरीय प्रहरी बृत्त गौशालामा राखिएको प्रहरी स्रोतले जनाएको छ।
पशुपति परिसरमा सिद्धबाबा आध्यात्मिक प्रतिष्ठानको नाममा ‘अतिरुद्र महायज्ञ’चलिरहेको छ। गिरी विरुद्ध आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोप छ। उनी विरुद्धको मुद्दा सुनसरी जिल्ला अदालतमा विचाराधिन छ।
उक्त महायज्ञको उद्घाटनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी थिए। महान्यायाधिवक्ता खम्मबहादुर खाती, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्रबहादुर धानुक, नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, प्रकाशमान सिंहलगायत उक्त यज्ञमा उपस्थित भईसकेका छन् ।
रोशनी शाही सिद्धबाबा अतिरुद्र महायज्ञ कृष्ण गिरी