News अपराध सुरक्षा

नेपालमा यसरी वढ्दैछ चीनियाँ नागरिकको साईवर अपराधको जालो

नेपालमा यसरी वढ्दैछ चीनियाँ नागरिकको साईवर अपराधको जालो

नेपालमा वसेर तेश्रो मुलुकमा साईबर अपराध गरिरहेका चीनियाँ नागरिक विरुद्ध पछिल्लो समय नेपाल प्रहरीको अप्रेशन जारी छ। कल सेन्टरका नाममा संचालन भईरहेका आर्थिक अपराध केन्द्र नियन्त्रण गर्नु प्रहरीको मुख्य उदेश्य हो। 

दुई वर्ष अघि नेपालस्थित चिनियाँ दूतावासले झण्डै ३ हजार चिनियाँ नागरिकले नेपालमा बसेर अवैध गतिविधि गरिरहेको सूचना दिएपछि प्रहरीमाथि दबाव छ। त्यही सूचनाका आधारमा प्रहरीका विभिन्न युनिटले चिनियाँ नागरिकमाथि निगरानी गरिरहेका छन्। प्रहरीले काठमाण्डौं, वुटवल, चितवन, पोखरा लगायतका क्षेत्रमा चीनियाँ नागरकिले संचालन गरेका कल सेन्टरमा छापा मारिसकेको छ।

मंगलवार पनि प्रहरीले काठमाडौंको तीनकुनेस्थित गैरिगाउँमा चिनियाँ लगानीमा सञ्चालित कल सेन्टरमा छापा मारेर ३६ जनालाई पक्राउ ग¥यो । ‘स्काई वलर्ड सर्भिस सेन्टर’ कम्पनीको आवरणमा अवैध कल सेन्टर चलाइरहेका ४३ वर्षीय चिनियाँ नागरिक हु एन्ह्वा, भारतीय नागरिक मनोज शैनी, नेहा गुप्तालगायतका ब्यक्ति पक्राउ परे।

उनीहरुले ‘डिजिटल वालेट’ मार्फत भारतलगायत विभिन्न मुलुकका व्यक्तिहरुलाई ऋण प्रवाह गर्ने, अत्याधिक ब्याज लिने, समयमा ऋण चुक्ता नगरे धम्की र ब्ल्याकमेलिङ गर्ने गरेको प्रहरीलाई सुचना छ। उनीहरुले २० हजार रुपैयाँ ऋण दिँदा ब्याजवापतको ५ हजार सुरुवातमै कटाएर १५ हजार रुपैयाँ मात्रै दिने गरेको पाईएको छ। प्रहरीका अनुसार यो उदाहरण मात्रै हो, उनीहरुले गर्ने गतिविधि नेपालको कानुनले निर्धारण गरेको क्षेत्र वाहिरका छन् ।

ऋणका लागि एप्लिकेसनमा लगइन गर्दै व्यक्तिगत गोपनीयता रहनुपर्ने आधार कार्ड, रासन कार्ड लगायतका विवरण पनि कलेक्सन गर्ने भएकोले त्यसैका आडमा धम्क्याउने र ब्ल्याकमेलिङ गर्ने गरेको पाईएको छ। तर, यस्ता कारोवार र गतिविधिका विषयमा हालसम्म प्रहरीले पुष्टि गर्न सकेको छैन।

यति मात्रै होईन, पोखरा, बुटवल र चितवनमा भएको अप्रेसनमा पनि प्रहरीलाई खासै ठुलो उपलब्धि हात परेन। उनीहरुले कुन–कुन एप्लिकेसन चलाउँछन्, को–को पीडित छन्, कति बराबरको आर्थिक कारोबार गरे भन्ने कुरा प्रहरीले जानकारी पाउन सकेको छैन।

अपराध पुष्टि नहुँदा यस अघि प्रहरीले अभद्र व्यवहारको कसूर वा बैंक तथा वित्तीय संस्था ऐन अनुसार मुद्दा चलाउने गरेको थियो । अवैध काम भईरहेको पत्ता लगाए पनि पुष्टि गर्ने आधार नहुँदा चीनियाँ नागरिक सजिलै रिहा हुने गरेको प्रहरीको भनाई छ।

०७९ वैशाख १३ गतेपनि प्रहरीले महाराजगञ्जबाट २२ चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरुलाई अध्यागमन विभागमा बुझायो तर, विभागले साँझ नै उनीहरुलाई गुपचुप छाडिदियो। 

कल सेन्टरमा चीनियाँ नागरिक पक्राउ पर्न थालेपछि अहिले कल सेन्टर चलाउने शैली पनि फेरिएको छ। पहिला कल सेन्टरमा चिनियाँ नागरिक नै कार्यरत हुन्थे, तर ‘अपरेसन चार्ली फोक्स्टर’पछि अधिकांश कल सेन्टर नेपाली नागरिकका नाममा छन् । उनीहरु भने पर्दा पछाडि वसेर काम गर्ने गरेको प्रहरीको भनाई छ।

पक्राउ पर्दा पनि नेपाली नै पक्राउ पर्ने भएकाले उनीहरु अहिले निर्धक्क काम गरिरहेको प्रहरीका उच्च अधिकारीहरु वताउँछन् । भाषाको समस्याका कारण प्रहरीले पक्राउ परेका चिनियाँको बयान लिन पनि सक्दैन । चिनियाँ भाषाका अनुवादक थोरै भएकाले प्रहरीलाई १२२ चिनियाँ पक्राउ परेको घटनामा अनुसन्धान गर्न सकस परेको थियो । अनुसन्धान अधिकृतहरुले अंग्रेजीमा प्रश्न गर्दा कसैले जवाफ फर्काएका थिएनन् । 


०७८ फागुन १० गते काठमाडौंको मध्यबानेश्वरमा चलाइएको अपरेसनमा चिनियाँ नागरिकसहित २७ जना पक्राउ परेका थिए । त्यहाँको ‘लेमन ग्रुप अफ कम्पनी’ ललितपुरका एक नेपालीको नाममा दर्ता भएको पाईएको थियो। पक्राउ पर्नेमा पनि एकजना चीनियाँ नागरिक र अरु सवै नेपाली नागरिक थिए ।

पहिलो पटक ०७६ पुस ७ गते चिनियाँ प्रहरीसँग संयुक्त कारबाही गरेर चलाइएको अपरेसन ‘चार्ली फोक्स्टर’मार्फत प्रहरीले १२२ जनालाई पक्राउ गरेको थियो । तर, ति सवै चीनियाँ नागरिक अभद्र व्यवहारको कसूरमा एक–एक हजार रुपैयाँ धरौटी तिरेर छुटे ।

नेपालले उनीहरुलाई चार वर्ष प्रतिबन्ध लगाउने निर्णय गर्दै देश निकाला गर्यो। चीनले उनीहरुलाई दुई वटा प्लेन पठाएर स्वेदश फिर्ता लग्यो। प्रहरीले यसरी नियन्तर अप्रेसन चलाएपनि चीनियाँ नागरिकको अपराधिक गतिविधि कम भएको छैन। 

भिजिट भिसामा आएर ६/६ महिनामा रिन्यू गर्दै अवैध काम गरेर बस्ने गरेको प्रहरीले जनाएको छ। नेपालमा चिनियाँ नागरिकहरु सुन तस्करी, नेपाली बेहुलीको चीनमा तस्करी, चोरी, विदेशी मुद्रा तस्करी, एटीएम ह्याकिङ लगायतका कसूर गर्दै आएको पाईएको छ। 
 

साईवर अपराध कल सेन्टर

विशेष