News

सन्यासी भए सिके राउत, ‘आनन्द मैत्रय’ भएर फर्कँदैछन जनकपुर

सन्यासी भए सिके राउत, ‘आनन्द मैत्रय’ भएर फर्कँदैछन जनकपुर

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत ओशो सन्यासी बनेका छन् । बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणबाट दीक्षा लिएर उनी ओशो सन्यासी बनेका हुन् । ओसो सन्यासी वनेपछि उनको नाम समेत परिवर्तन भएको छ। अव उनी ‘आनन्द मैत्रय’ का नामले पनि पुकारिने छन् ।
 
कुनै बेला तराईलाई छुट्टै देश बनाउने अभियानमा लागेर राज्य द्रोहको मुद्धामा जेल समेत बसेका राउतले काठमाडौंको रानीबारीमा रहेको ओशो तपोवनमा ९ दिनसम्म ध्यानमा वसे। मोबाइल अफ गरेर ध्यानमा बसेका उनले दिक्षा प्राप्त गरी सन्यास धारण गरेका हुन् । 

सन्यास लिँदा नयाँ जन्म भएको मान्यताको आधारमा उनलाई नयाँ नाम दिईएको छ। आनन्द मैत्रयको रुपमा उनको नयाँ जन्म भएको ओशो तपोवन व्यवस्थापनकी सदस्य सोभिता सिंखडाले वताईन। राउत पहिलेदेखि नै आध्यात्मिक रहेको र ओशोको पुस्तक पढ्ने तथा ध्यान गर्ने गरेको उनको भनाई छ।

राउत यसअघि हरिद्वार लगायत नेपाल र भारतका विभिन्न गुरुहरुको आश्रममा गएको उनले जानकारी दिए । सन्यास धारण गर्दैमा उनले राजनीति चै छाड्नु नपर्ने उनको भनाई छ। ओशो सन्यासी भएपछि राउतले गुरुले दिएको माला र सन्यासी पोषाकमा देखिने उनले बताइन् । 

जनमत पार्टीका नेता वीपी साहका अनुसार राजनीतिमा आउनुभन्दा पहिलेदेखि नै राउत अध्यात्ममा लागेका थिए । उनको बैरागदेखि बचावसम्म भन्ने आत्मकथा प्रकाशित पनि भएको छ । इन्जिनियरिङमा स्नातक सकेपछि उनी बैरागमा जाने भनेर भारतको बैंङलोरको तीर्थयात्रा पनि गरेका थिए।

पार्टीको झण्डामा पनि अष्टकमलको चित्र छ । स्वतन्त्र मधेश गठबन्धन छँदा पनि झण्डामा पनि ८ वटा धर्सा भएको बुद्धको धम्मलाई समावेश गरिएको साहले वताए । जसलाई ओशोका चक्र पनि भनिन्छ । बुद्धको मुख्य सिद्धान्त जनमत पार्टीको राजनीतिक सिद्धान्त पनि भएको उनले वताए ।

सन्यासी वनेपछि उनी जनकपुर फर्किने तयारीमा रहेको जनाईएको छ।
 

सिके राउत

विशेष