News

‘अमेरिकीहरुको निरन्तरको भ्रमणले नेपालको असंलग्न नीति धरापमा’

‘अमेरिकीहरुको निरन्तरको भ्रमणले नेपालको असंलग्न नीति धरापमा’

लेखक खगेन्द्र संग्रौलाले अमेरिकी अधिकारीहरुको लगातारको नेपाल भ्रमणले मुलुकको असंलग्न परराष्ट्र नीति धरापमा परिरहेको भन्दै चिन्ता गरेका छन् । अमेरिकी अधिकारीहरुको एकपछि अर्को नेपाल आगमनले छिमेकी देशहरुसँगको सम्वन्धमा आशंका र तनाव उत्पन्न गरिरहेको उनको वुझाई छ।

अमेरिकाको दक्षिण तथा मध्यएसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आउनु केही घण्टा अगाडि सामाजिक सञ्जाल मार्फत संग्रौलाले चिन्ता ब्यक्त गरेका छन। 

डोनाल्ड लुको नेपाल भ्रमणलाई लक्षित गर्दै संग्रौलाले ट्वीटरमा लेखेका छन्–‘ हैट्, फेरि अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु नेपाल आउँदै? हैन, अमेरिकी ब्रोहरू कति नेपाल आका हुन? यी आउँछन्, यिनलाई देखेर नेपाल अमेरिकी सैन्य गठबन्धनतिर लहसिने भो भनी चीन झस्किन्छ। अनि आपसी सम्बन्धमा आशंका र तनाव पैदा हुन्छ। अनि नेपालको असंलग्न नीति धरापमा पर्छ। हे हरि!’

लु मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता अनुमोदन प्रक्रिया अघि नबढिरहेका बेला गत वर्ष मंसिर १ मा पनि नेपाल आएका थिए । यसैगरी, अमेरिकी सेनाका एशिया प्रशान्त क्षेत्र हेर्ने कमान्डका जर्नेल चार्ल्स एन्थोनी फ्लिन, अमेरिकी उपविदेशमन्त्री उज्रा जेयालगायतका थुप्रै अमेरिकीहरुले नेपालको भ्रमण गरिसकेका छन् ।

एमसीसी प्रकरणपछिको लगातारको यो भ्रमणलाई छिमेकी मुलुक चीनले सकारात्मक रुपमा लिएको छैन। लुको पछिल्लो भ्रमणलाई पनि शंकाको दृष्टिले हेरिएको छ। नेपालमा अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा संलग्न नहुने मन्त्रिपरिषद्को निर्णयबारे पत्राचार अड्किरहेका बेला उनी काठमाडौंमा उत्रँदै छन ।

संसद्ले एमसीसी सम्झौता अनुमोदन गरेको चार महिना र एसपीपीमा संलग्न नहुने निर्णय गरेको एक महिनापछि लुको नेपाल भ्रमण हुन लागेको हो । स्रोतका अनुसार दुईदिने नेपाल भ्रमणका क्रममा लुले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने तय भएको छ ।

लु तिनै ब्यक्ति हुन, जसले एमसीसी सम्झौताका विषयमा गत माघ २७ मा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन संवाद गरेका थिए । यो संवादमा लुले ‘एमसीसी फिर्ता भए राम्रो नहुने’ चेतावनी दिएको नेताहरूले बताएका थिए ।

एमसीसी र एसपीपीमा अमेरिकाले निकै चासो देखाएको छ। तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीले एसपीपीमा सहभागिताका लागि अमेरिकी राजदूतलाई २०७५ कात्तिक १० मा पत्र लेखेका थिए । उक्त पत्रमा ‘सरकारको स्वीकृति’ रहेको उल्लेख छ । तत्कालीन प्रधानसेनापति क्षत्रीले माओवादी अध्यक्ष दाहाल प्रधानमन्त्री भएका बेला २०७४ वैशाख र कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएका बेला २०७४ माघमा पनि एसपीपीमा सहभागिताका लागि अमेरिकालाई पत्राचार गरेको खुलेको छ ।

नेपाली सेनाबाट प्राप्त पत्रका आधारमा नेपाल सन् २०१९ देखि एसपीपीको सदस्य भएको अमेरिकी भनाइ छ । इन्डो–प्यसिफिक रणनीति (आईपीएस) मातहतको कार्यक्रम एसपीपीमा नेपाल पनि साझेदार रहेको खुलासा अमेरिकी प्रतिवेदनले गरेपछि ओली नेतृत्वको तत्कालीन सरकारले परराष्ट्र सचिवको नेतृत्वमा अध्ययन कार्यदल बनाएको थियो, जसमा गृह सचिव र प्रधानसेनापति सदस्य थिए ।

कार्यदलले एसपीपीजस्ता सैन्य साझेदारी कार्यक्रममा नेपाल सहभागी हुन नमिल्ने प्रतिवेदन दिए पनि सरकारले पत्राचार गरेको थिएन । पछिल्लो समय यसको चौतर्फी आलोचना भएपछि असार ६ गते सरकारले एसपीपीमा सामेल नहुने र पत्राचार गरेर अमेरिकालाई जानकारी दिने निर्णय गरेको थियो । तर परराष्ट्र मन्त्रालयले अहिलेसम्म पनि पत्राचार गरेको छैन । यस विषयमा संसदमा दैनिक जसो चर्चा हुने गरेको छ। यही मेसोमा नेपाल आउन लागेका लुले एसपीपीका विषयमा नेपालका नेताहरुलाई दबाब श्रृजना गर्ने आशंका गरिएको छ।

डोनाल्ड लु

विशेष