News

२ महिनाअघि थप्पड खाएका भिक्षुद्वारा अभिनेतृ मिरुना मगर विरुद्ध मुद्दा दर्ता

२ महिनाअघि थप्पड खाएका भिक्षुद्वारा अभिनेतृ मिरुना मगर विरुद्ध मुद्दा दर्ता

फिल्म हेर्न सुन्धारास्थित सिभिल मलमा पुगेका फुर्पा तामाङले आफूलाई दुर्ब्यवहार गरेको भन्दै थप्पड हान्ने अभिनेत्री मिरुना मगर विरुद्ध मुद्दा दर्ता भएको छ। मगर विरुद्ध फुर्पा तामाङले गाली बेइज्जती र कुटपिट गरेको आरोप लगाउँदै बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् । 

काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार तामाङले अभिनेत्री मगरसहित प्राविधिक पृथ्वीसिंह ठकुरीलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका छन् । जेठको दोस्रो साता ‘कवड्डी–४’ फिल्म हेर्न सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा पुगेका फुर्पा तामाङले आफूलाई दुर्ब्यवहार गरेको भन्दै अभिनेत्री मगरले थप्पड हानेकी थिइन् । साथै उनले तामाङलाई प्रहरीको जिम्मा लगाएकी थिइन् । 

प्रहरीले बौद्ध भिक्षुसमेत रहेका तामाङलाई हिरासतमा राखेपछि उनका पक्षधर ‘रिहाइ’को माग गर्दै विरोधमा उत्रिएका थिए । उनीहरुले विरोध प्रदर्शन गर्दै चावहिलको केएल टावरमा फिल्मको पोस्टर जलाएका थिए । विवादकै कारण केएल टावरस्थित एफक्युब मल्टिप्लेक्सले फिल्म कबड्डी–४ को प्रदर्शन स्थगित गरेको थियो ।

प्रदर्शनले फिल्ममा समेत असर गर्न थालेपछि फिल्म निर्माण पक्षका अभिनेता दयाहाङ राई, निर्देशक रामबाबु गुरुङसमेत लागेर दुवै पक्षविच सहमति गराएका थिए । फिल्म हलमा पुगेकी अभिनेत्री मिरुना मगरमाथि भएको अभद्र व्यवहार सम्बन्धी घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी अभिनेत्री मगरसमक्ष माफी मागेको र अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी दिएको लिखित सहमतिमा उल्लेख गरिएको थियो।

आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति मिरुनाले क्षमा याचना गरेकी थिईन। दुवै पक्षका अभिभावक बसेर आगामी दिनमा यस विषयलाई लिएर विवाद नगर्ने, एकअर्कालाई टिप्पणी नगर्ने, धार्मिक तथा साम्प्रदायिक द्वेष फैलिन नदिने सहमति भएको थियो।
 

फुर्पा तामाङ मिरुना मगर कबड्डी–४

विशेष