News

बारामा कांग्रेस र लोसपाका कार्यकर्ताबिच झडप, प्रहरीसहित ९ जना घाईते

बारामा कांग्रेस र लोसपाका कार्यकर्ताबिच झडप, प्रहरीसहित ९ जना घाईते

बाराको सिम्रौनगढ नगरपालिकामा कांग्रेस र लोकतान्त्रीक समाजवादी पार्टीका कार्यकर्ताबिच झडप भएको छ। झडपमा प्रहरीसहित ९ जना घाइते भएका छन् ।

झडपमा उत्पन्न तनाव नियन्त्रणमा लिने प्रयासमा प्रहरीले १५ सेल अश्रुग्याँस प्रहार गरेको छ । झडपमा परी नेपाली कांग्रेसका सिम्रौनगढ–४ बस्ने ३३ वर्षीय रवी कुमार सहनी, राम निवास राम, वडा नं ९ बसवरिया बस्ने ३० वर्षीय उमेश यादव र ३८ वर्षीय गौरीशंकर यादव घाइते भएका छन् । 

यसैगरी नेपाल प्रहरीका तर्फ पनि पाँच जना घाइते भएका छन् । प्रहरी सहायक निरीक्षक भवमोचन झा, प्रहरी बरिष्ठ हवल्दार प्रमोद साह, प्रहरी हवल्दार मदन साह तेली र रमेश राय यादव र उमेश यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले शिक्षा र स्वास्थ्य शाखा प्रमुख परिवर्तन गर्न गरेपछि उपमेयर नजमु शेहरका पति शेख मोतिम र वडा नं. ४ का अध्यक्ष अवधेश सहनी बीच विवाद सुरु भएको थियो। 

शिक्षा शाखा प्रमुख नुर आलम सिद्धिकीलाई हटाएर कमलेश प्रसाद अग्रहरीलाई ल्याउन भनिएको थियो ।  शिक्षा शाखा प्रमुख हुनु अघि उनी कंकाली उच्च माविमा शिक्षक थिए । अग्रहरी खजानी माविका प्रधानाध्यापक हुन् ।

त्यसैगरी स्वास्थ्य शाखा संयोजकमा सिनियर अहेब छैठौं तहका अधिकृत राजेन्द्र साहको ठाउँँमा हेल्थ असिस्टेन्ट छैठौं विजय ठाकुरलाई ल्याउन भनिएको थियो । आदेश अनुसार प्रशासनले टिप्पणी उठाएको थियो । नगर प्रमुखले स्वीकृत पनि गरिदिएका थिए ।

तर वडा नं ४ का अध्यक्ष अवधेश सहनी सहित नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले आफुखुसी कर्मचारी सरुवा गरेको भन्दै विवाद गरे। उक्त विवादकै क्रममा उपमेयरका पति शेख मोतिमसँग पनि भनाभन भयो।

दुई पक्षबीच सुरु भएको विवाद झडपमा परिणत भयो । ढुंगामुढा गर्न थालेपछि प्रहरीले रोक्न खोज्यो। १५ सेल अश्रु ग्याँस प्रहार गरियो। स्थिति नियन्त्रणमा लिनका लागि जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय सिम्रौनगढ,  इलाका प्रहरी कार्यालय कोल्हबी र इलाका प्रहरी कार्यालय बारागढीबाट प्रहरी परिचालन गरिएको थियो । 
 

विशेष