News राजनीति

जनयुद्धका सहयात्री प्रति प्रचण्डको टिप्पणी– बाबुराम माओवादी नै होईनन्

जनयुद्धका सहयात्री प्रति प्रचण्डको टिप्पणी– बाबुराम माओवादी नै होईनन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शेरबहादुर देउवालाई सार्वजनिक रुपमा धम्कीको भाषा प्रयोग गरेका छन् । आगामी निर्वाचनमा माओवादी कांग्रेसपछिको दोश्रो ठुलो दल नभए सहज नहुने भन्दै उनले धम्की दिएका हुन।

शनिबार काठमाडौंमा आयोजित सम्पर्क समन्वय प्रदेशस्तरीय राजनीतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले संघ र प्रदेशको चुनावमा कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गरे। नेपाली कांग्रेसका नेताहरुसँग यो विषयमा कुरा गरिसकेको र कांग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी पनि उनले दिए ।

‘मैले नेपाली कांग्रेसका नेतासँग कुरा गर्दा भनेको छु । सायद पहिलो अहिले तपाईहरु नै हुनुहुन्छ त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज जाँदैन ।’– उनले भने।

गठबन्धनको नेतृत्व तहमा राम्रो समझदारी भएकाले स्थानीय तहको जस्तो गडबड हुन नदिने उनले प्रतिवद्धता जनाए । 

बाबुराम माओवादी नै होईनन्
दाहालले जनयुद्धका सहयात्री बाबुराम भट्टराई माओवादी नै नभएको टिप्पणी गरे। देशमा अब एउटा मात्र माओवादी बाँकी रहेको जिकिर गरेका उनले ‘अब माओवादी नाम भएको माओवादी केन्द्र मात्र बाँकी रहने’ बताए ।

स्थानीय तहमा झण्डै १७५ आसपास सिट पाउने सम्भावना चुनावी तालमेलको तिक्तताको कारण पूरा हुन नसकेको बताए । ‘१२२ पुग्यौं । ५० सिट गुमायौं,’ उनले भने, ‘२० सिट आए पनि तेस्रो हुन्थ्यौं तर त्यो निर्णायक हुँदैनथ्यो । अहिले हामी निर्णायक तेस्रो शक्ति छौं ।’

उनले एकपटक पुनः देशको बागडोर माओवादीका हातमा ल्याएर सुशासन र विकासको उदाहरण पेश गर्ने आफ्नो धोको रहेको बताए । ‘१० वर्षपछि आएर देशमा एउटा मात्रै माओवादी छ र यसको एउटै नेतृत्व प्रचण्ड मात्रै छ भन्ने पुष्टि भएको छ’ उनले भने–‘यो चुनावमाबाट माओवादी भनेको माओवादी केन्द्र मात्रै हो, अरुको काम छैन भन्ने स्पष्ट भयो। किरण माओवादी काम छैन, विप्लव माओवादीको पनि अब अर्थ छैन, बाबुराम त माओवादी नै होइनन्, तिनको त हिसाबै भएन ।’
 

विशेष