News अर्थ बैंकिङ

२५ हजार वचतकर्तालाई विचल्ली पारेर गौतमश्री सहकारीका सञ्चालक फरार

२५ हजार वचतकर्तालाई विचल्ली पारेर गौतमश्री सहकारीका सञ्चालक फरार

२५ हजारभन्दा बढी वचतकर्ताको रकम हिनामिना गरेर काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालकहरु फरार भएका छन् । वचतकर्ताले लामो समयदेखि वचत फिर्ता माग्दा पनि नदिई वसेका उनीहरु शुक्रवारदेखि एकाएक फरार भएका हुन।

सहकारी संस्थाका सञ्चालक फरार भएपछि वचतकर्ताहरु आन्दोलित भएका छन् । उनीहरुले सञ्चालक विरुद्ध सहकारी विभागमा उजुरी पनि दिएका छन् । बचत रकम फिर्ता गर्न नसकेर समस्यामा परेको सहकारीको मुख्य कार्यालयमा शुक्रवारदेखि नै ताल्चा लागरेको छ। फरार सञ्चालकलाई खोजेर बचत रकम फिर्ता गराइदिन भन्दै गौतमश्री सहकारीका करिब १५ सय बचतकर्ताहरु आइतबार विभागमा उजुरी दिन पुगेका छन् । 

सहकारीले कसको के कति रकम फिर्ता नगरेको हो, सो खुलाई उजुरी दिन भनिएको सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले जानकारी दिए । ‘अहिले विभागमा उपस्थित पीडित सदस्यहरुले एकएक गरी आफ्नो बचत रकम दाबीसहित विभागमा उजुरी दर्ता गरिरहेका छन’ पण्डितले भने।

घटनाको प्रकृति र बचतकर्ताहरुको उजुरीका आधारमा उक्त सहकारीमाथि अनुसन्धान र कारबाही अघि बढाइने रजिष्ट्रार पण्डितले जानकारी दिए ।  शुक्रबार मुख्य कार्यालय नै बन्द गरेर फरार भएपछि कुलेश्वरस्थित गौतमश्री सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको छ ।

सहकारीमा बैंकको कुनै पनि लगानी नभएपनि सहकारी रहेको भवनमा नै सञ्चालित गौतमश्री काउ फार्म एण्ड डेरी उद्योग र कृषि तथा अन्य सामग्रीको स्टोर रहेको र सोमा बैंकको लगानी रहेकाले संरक्षणका लागि सिल गरिएको बैंकले जनाएको छ । 

सहकारीका सञ्चालक रामबहादुर गौतमको अन्य व्यवसायमा बैंकले लगानी गरेको र सोही भवनमा बैंकले लगानी गरेको व्यवसायको गोदाम तथा कार्यालय रहेकोले सहकारी पीडितको घेराबन्दीपछि बैंकले उक्त भवनमा सिल गरेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले वताए । बचतकर्ताको भिडभाड भएको र त्यहाँबाट एउटा गाडी पनि उठाएर लगेको सूचना पाएपछि स्टोरका सामान यताउता नहोस् भनेर सिल गरेर सूचना टाँसेको उनको भनाई छ।

बुधबार साँझसम्म सहकारीका सञ्चालक गौतम बैंकको सम्पर्कमा भएपनि बिहीबारबाट सम्पर्कविहीन भएपछि बैंकले बिहिबार साँझ नै भवनमा सिल गरेर उक्त सूचना टाँसेको उनले बताए ।

पीडितहरु गुनासो लिएर आएपछि विभागले सहकारीको अवस्था के हो, सहकारीको चल–अचल सम्पत्ति के कति छन्, विभागको अनुमतिविना नखोल्नु भनेर प्रहरी प्रधान कार्यालयलाई पत्राचारसमेत गरेको छ।

गौतमश्री सहकारी

विशेष