News

काठमाण्डौंको अधिकांश पानीको श्रोतमा दिसाका जिवाणु

काठमाण्डौंको अधिकांश पानीको श्रोतमा दिसाका जिवाणु

काठमाडौं उपत्यकाका अधिकांश पानीको श्रोतमा दिसामा पाईने जिवाणु फेला परेको छ। धारा र इनारको पानी, ट्याङकरबाट वितरण गरिने र जारको पानीमा इकोलाई र कोलिफर्म देखिएको छ । 

इकोलाई मानिसको दिसामा हुने जीवाणु हो । यसलाई झाडापखालाको एउटा प्रमुख कारक मानिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का निर्देशक चुमनलाल दासले काठमाडौं उपत्यकाको पानीका स्रोतहरुमा हैजाका जीवाणु रहेको जानकारी दिए ।

ललितपुरमा १८ ठाउँमा पानीको नमुना परीक्षण गर्दा १२ वटामा कोलिफर्म देखिएको जनाईएको छ। यसको अर्थ पानीमा दिसामा हुने जिवाणु मिसिएको भन्ने नै हो। पानीका कारण हाल काठमाण्डौमा झाडापखाला र हैजाका विरामी थपिने क्रम वढेको छ।

पाटन अस्पतालका मेडिकल विभागका प्रमुख तथा पेट रोग विशेषज्ञ डा. युवराज शर्माका अनुसार हाल पाटन अस्पतालमा मात्रै झाडावान्ताका विरामी दैनिक २० जनाभन्दा वढि आइरहेका छन् । 

काठमाडौं उपत्यकामा हैजा संक्रमितको संख्या पनि १९ पुगेको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मा बस्ने ४ र ६ बर्षका बालकमा हैजा पुष्टि भएसँगै संक्रमतिको संख्या १९ पुगेको हो ।

हैजा संक्रमित हुनेमा १४ जना पुरुष र ५ जना महिला छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)का अनुसार १४ बर्षमुनिका तीन बालबालिकामा संक्रमण पुष्टि भइसकेको छ । इडीसीडीका अनुसार कागेश्वरी मनोहरामा तीन जना, बागबजार र कालीमाटीमा दुई–दुई जना हैजाका बिरामी भेटिएका छन् ।

त्यसैगरी, सानेपा, डिल्लीबजार, कपन, बालाजु (बोहोराटार), बल्खु, थानकोट, नैकाप, कोटेश्वर, कंलकी (खसीबजार), कीर्तिपुर, टेकु, कागेश्वरी मनहरा र ग्वार्कोमा एक–एक जनामा हैजा संक्रमण देखिएको छ ।

सोमबार दिउँसोसम्म एक जनामात्रै उपचाररत छन् । ‘हैजा संक्रमण पुष्टि भएकी एक गर्भवती महिला उपचाररत रहेको जनाईएको छ। अरु सबै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । पिउने पानीमा ध्यान दिन र सकेसम्म पानी उमालेर मात्र सेवन गर्न डा. दासले आग्रह गरेका छन् । 
 

विशेष