News

तेल वितरणमा कोटा लगाउने प्रस्तावः मोटरसाइकललाई ५ लिटर मात्रै

तेल वितरणमा कोटा लगाउने प्रस्तावः मोटरसाइकललाई ५ लिटर मात्रै

पेट्रोलियम पदार्थमा घाटा बढ्दै गएपछि नेपाल आयल निगमले सरकारलाई तेल वितरण प्रणालीमा कोटा लगाउन प्रस्ताव गरेको छ । निगमले तेलको खपत कम गर्नका लागि एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र कार तथा जिपलाई २० लिटरसम्म तेल वितरण गर्न आग्रह गरेको छ।

निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव पठाउँदै सरकारी तथा निजी सवारीसाधन जोर विजोर प्रणालीमा सञ्चालन गर्न, देशका प्रमुख शहरमा शनिबार गाडीरहित सार्वजनिक विदाको घोषणा गर्न, छोटो दूरीमा सवारीसाधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न, पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन लगायत अन्य उपकरणहरुको आयात बन्द गर्न र ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गर्ने प्रस्ताव निगमको छ ।

खाना पकाउने एलपी ग्यासको खपत कम गर्न विद्युतीय चुल्हो सहुलियत दरमा बिक्री गर्ने र घरायसी प्रयोजनका लागि विद्युतीय शुल्क कम गर्ने प्रस्तावमा उल्लेख छ। 

विद्युतीय सवारी साधनको प्रयोगमा वृद्धि गर्न प्रमुख सहर र राष्ट्रिय राजमार्गहरूमा निःशुल्क चार्जिङ स्टेसन निर्माण गर्ने तथा सार्वजनिक निजी पार्किङ स्थलमा विद्युतीय सवारीका लागि अलग्गै निःशुल्क पार्किङस्थल तोकिदिने व्यवस्था मिलाउने निगमले सरकारलाई सुझाएको छ।  

यसअघि पनि निगमले पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई सुझाव दिएको थियो। त्यसमध्ये साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएपनि कार्यान्वयनमा समस्या देखिएपछि सरकारले उक्त निर्णय फिर्ता लिएको थियो। 


 

विशेष