News

जसपाले फिर्ता बोलायो तीन मन्त्री, राजेन्द्र श्रेष्ठलाई निरन्तरता

जसपाले फिर्ता बोलायो तीन मन्त्री, राजेन्द्र श्रेष्ठलाई निरन्तरता

जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा नयाँ मन्त्री पठाएको छ। तीन जना मन्त्रीलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा नयाँ मन्त्री पठाएको हो। एक जनालाई भने निरन्तरता दिईएको छ।

जसपाले कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई फिर्ता बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले भने निरन्तरता पाएका छन् ।

फिर्ता बोलाईएकाहरुको ठाउँमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह यादव मन्त्री भएका छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुपमा सिफारिस गरिएको छ।

मन्त्रीहरु हेरफेर गर्नुअघि अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेताहरुले नेताहरुसँग छलफल गरेका थिए । पार्टी केन्द्रीय सदस्य र सांसदहरुसँग छुट्टाछुट्टै छलफल गरेपछि दुई नेता बसेर मन्त्रीहरुको सूची बनाएको र साँझ अबेर अध्यक्ष यादवले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको एक नेताले बताए ।

हालै नेकपा एकीकृत समाजवादीले पनि पुराना मन्त्री फिर्ता बोलाई नयाँ मन्त्री सिफारिस गरेपछि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद पुनर्गठन गरेका थिए।
 

विशेष