News

आँखा झिमिक, प्रचण्डका छोरी–ज्वाई केन्द्रीय सदस्य...

आँखा झिमिक, प्रचण्डका छोरी–ज्वाई केन्द्रीय सदस्य...

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ३७३ सदस्यीय केन्द्रीय सदस्यहरुको नाममा फेरी पनि छोरी गंगा दाहाल र ज्वाई जिविन आचार्यको नाम घुसाएका छन् । आइतबार सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा दाहालले कपटपूर्ण तरिकाले छोरीज्वाईलाई केन्द्रीय सदस्य वनाएको आरोप छ।

अध्यक्ष दाहालले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाए। तर, उनीहरुको नाम नसुनाई ‘छुटपुट केन्द्रीय सदस्यको सपथ ग्रहण गराउने’ भन्दै सवैलाई उठाए। सवै पुराना केन्द्रिय सदस्यलाई पनि उठन लगाईयो। ३७३ जना उठेका ठाउँमा को–को उठे र क–कसले सपथ ग्रहण गरे ? कसैले मेसो पाएनन्। तर, जव ३७३ जनाकै नाम सार्वजनिक भयो, त्यसमा गंगा र जिवनको पनि नाम देखेर धेरैले जिव्रो टोके । दुवै जना माओवादीका वैधानिक केन्द्रीय सदस्य भईसकेका छन् ।

३७७ सदस्यीय केन्द्रीय सदस्य रहने भनिए पनि चार जनाको नाम अझै खाली छाडिएको छ । यसअघि माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुने भनिए पनि पछि संख्या थपिएको थियो । एक पटक विरोध भएपछि पनि केन्द्रीय समितिमा छोरी ज्वाईको नाम छिराईएको भन्दै विरोध सुरु भएको छ।

दाहालले गत फागुनमै छोरी–ज्वाइँलाई केन्द्रीय सदस्य बनाउन खोजेका थिए। तर, छोरी–ज्वाइँलाई केन्द्रीय सदस्य प्रस्ताव गरेको भन्दै महाधिवेशन हलमै प्रचण्डको चर्काे विरोध भयो। महाधिवेशन हलले गंगा र जीवन समेतको नाममा आपत्ति जनाएपछि प्रचण्ड पछि हट्न बाध्य भए।

उनले छोरी–ज्वाइँको नामै उच्चारण गरेर उनीहरुको नाम प्रस्तावित सूचीबाट हटाएको वचनबद्धता प्रकट गरेका थिए। तर, त्यसको ६ महिनापछि डाकिएको केन्द्रीय समितिको बैठकमा कपटपूर्ण तरिकाले उनै छोरी–ज्वाइँलाई केन्द्रीय सदस्य बनाएरै छाडे।

यसपालि भने उनले नामै नपढी आफ्ना छोरी–ज्वाइँलाई समेत केन्द्रीय सदस्यको सूचीमा राखेका छन्। आइतबारको बैठकमा बोल्ने क्रममा माओवादीकी कर्णाली प्रदेश अध्यक्ष बिमला केसीले पार्टी अध्यक्षलाई परिवारवादको आरोप किन आइरहेको छ भनेर प्रश्न गरेकी थिइन्।

गंगा र जीवनको योग्यता भनेको प्रचण्डको छोरी–ज्वाइँ मात्रै भएको माओवादीका एक केन्द्रीय सदस्यले टिप्पणी गरे। उनका अनुसार माओवादीमा गंगा र जिवन दुवैको योगदान छैन। उनीहरु प्रचण्डका छोरी ज्वाई भएकै कारण पार्टीको केन्द्रीय सदस्य भएका हुन।

गंगा र जिवनको ०६४ मा विवाह भएको हो। कांग्रेस पृष्ठभुमिका जिवन विवाहपछि मात्रै माओवादीसँग जोडिएका हुन् भने दाहालको सचिवालयमा जागिर खाईरहेकी गंगा प्रकाश दाहालको निधन नहुँदासम्म गृहिणी मात्रै रहेको नेताहरु वताउँछन्। अहिले पार्टीमा उनको आतंक समेत वढेको नेताहरु वताउँछन्।

हिजोआज प्रचण्डलाई भेट्न खुमलटारमा जादासमेत गंगा र जीवनलाई चित्त नबुझाई जान नसकिने गुनासो पार्टीमा बढेको ती नेताहरुको भनाई छ।

यतिमात्रै होईन, दाहालले यसअघि राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभाको कोटामा समेत आफ्ना भाइ नारायण दाहाललाई पठाएका थिए भने कुनै कमिटीमा आवद्ध नभएकी नातिनी सृष्टी केसीलाई अखिल क्रान्तीकारीको केन्द्रीय सदस्य बनाए। पदाधिकारी गठनमा विरोध गरिरहेका उपाध्यक्ष पवन कार्कीलाई भने प्रहरी लगाएर निकालिएको थियो। 

त्यसपछि उनलाई संगठनले कारवाही गरेर निकालेको छ। 

विशेष