News

‘इनफ इज इनफ’ को जवाफ ओलीले नेपालीमा फर्काए– अब चाहिँ अति नै भयो

‘इनफ इज इनफ’ को जवाफ ओलीले नेपालीमा फर्काए– अब चाहिँ अति नै भयो

आफु प्रधानमन्त्री भएका बेला ‘इनफ इज इनफ’ भन्दै सरकारको आलोचना गर्ने कांग्रेस नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘अब चाहिँ अति नै भयो’ भन्दै नेपालीमा जवाफ फर्काएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा सम्बोधन गर्दै ओलीले मुलुकको अर्थतन्त्र, परराष्ट्र सम्बन्ध लगायतका विषयमा अति भएको बताए। आफू सरकारमा हुँदा तत्कालीन प्रतिपक्षी कांग्रेसका एक सांसदले भनेको कुरा स्मरण गर्दै ओलीले भने–‘इनफ भन्दा बढी नै भइसकेपछि मैले यहाँ बोल्न उभिनुप¥यो । अब चाहिँ अति नै भयो।’

सत्तापक्षका नेता र मन्त्रीहरूले विभिन्न विषयमा जथाभावी बोल्दै हिँडेको ओलीको आरोप थियो । एसपीपी, अर्थमन्त्रालयमा बजेट निर्माण भइरहेका बेलाको विषयलाई लिएर ओलीले संसद्मा आपत्ति जनाए।

ओलीले आर्थिक वर्ष २०७९÷८० को बजेटमा दुई चारवटा घरानाको अनुहार देखिएको टिप्पणी गरे। ‘यो त दुई चार घरानाको बजेट भयो, यसमा घरानाको अनुहार देखिन्छ। यसरी अनुहार हेरेर निश्चित घरानालाई फाइदा हुने गरी अरुलाई फाइदा नहुने गरी बजेट किन बनाइयो ?’ उनले भने–‘करका दर फाइनल हुने दिन अर्थ सचिव, सम्बन्धित सहसचिवहरु घर जानसमेत पाउँदैनन्, त्यहीँ रात बस्नुपर्छ। यहाँ त करका दर कति राखौं, तिमीहरुलाई कति कति चाहिन्छ ? भनेर बजेट बनाइयो। गज्जब छ।’

बजेट निर्माणमा अनधिकृत मान्छे राखेर निश्चित घरानाका व्यक्तिले भने अनुसार नै करको दर निर्धारण गरिएको ओलीले आरोप लगाए । बजेटमा के आयो भन्दा पनि कसरी आयो भन्ने विषयमा प्रश्न उठेको ओलीको भनाइ छ।

‘अनाधिकृत मान्छेहरूले बजेट निर्माणको काम गरे। अहिलेसम्म विश्वमै यति अनैतिक काम भएको छैन होला। देशको अर्थतन्त्रका विरूद्ध यस प्रकारका क्रियाकलाप भएका छैनन् होला विश्वमा,’ उनले भने। नेपालमा यस किसिमले बजेट निर्माण भएको पहिलो घटना भएको ओलीको दाबी छ। 


अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी हुन नेपाली सेनाले लेखेको पत्रबारे छानबिन गर्न पनि माग गरेका छन्। पत्रमा मिति पछि लेखिएको बारेमा ओलीले प्रश्न उठाए। संसदीय समितिमा गएका बेला नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले पत्रमा मिति पछि लेख्ने चलन रहेको बताएका थिए। 

ओलीले भने सरकारी पत्रमा मिति पछि लेख्ने चलन नै नभएको भन्दै सेनाको आलोचना गरे। ‘यहाँनेर उल्लेख गर्नुपर्ने कुरा के छ भने सरकारीमा पछि हातले लेख्ने चलन हुँदैन। तर म प्रधानमन्त्री भएपछि पठाइएको पत्रको सत्यतथ्य बाहिर ल्याउनुपर्छ ? यस्तो प्रचलन हुन्छ र?’, उनले प्रश्न गरे।  

‘कुनै प्रमाण सबुद छ भने गरिमामय संसदमा पेश गर्न सभामुखमार्फत प्रधानमन्त्रीलाई अनुरोध गर्दछु’, ओलीले भने, ‘लिक भएर बाहिर आएको मस्यौदा धेरै गम्भीर छ, यसले विदेशी सैन्य अड्डा, सैन्य इकाइ नेपालमा रहने, हिमाली भूभागमा सैन्य अभ्यास गर्ने, आवश्यकताअनुसार अड्डा बस्ने अवस्था आउनसक्छ।’ 

ओलीले एसपीपीमा स्थानीय सरकारले मागेको कुरा उपलब्ध गराउनुपर्ने हुँदा नेपाल सरकार बाध्यकारी स्थितिमा पर्ने बताए। 
 

केपी शर्मा ओली इनफ इज इनफ अब चाहिँ अति नै भयो

विशेष