News

मृगेन्द्रलाई मन्त्रीबाट हटाउ माग गर्दै सर्वोच्चमा रिट, हटाउनु पर्ने यस्तो छ कारण ?

मृगेन्द्रलाई मन्त्रीबाट हटाउ माग गर्दै सर्वोच्चमा रिट, हटाउनु पर्ने यस्तो छ कारण ?

राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार सिंह यादवलाई मन्त्री नियुक्त गरिएपछि त्यो नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका ब्यक्तिलाई संविधानको मर्म र भावनाविपरीत मन्त्री बनाइएको भन्दै उनको नियुक्ति खारेजीको माग गर्दै निवेदन पेस गरिएको हो। अधिवक्ता अनुपम भट्टराईले मंगलबार रिट निवेदन पेस गरेका हुन् ।

रिट निवेदन रुजु भएपछि रसिद काट्न नभ्याइएको अदालत प्रशासनले जनाएको छ। 

संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य नहुने उल्लेख छ ।

यादव तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधि सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ मा उम्मेदवार बनी पराजित भएका थिए । प्रतिनिधि सभामा पराजित भए पनि यादव पछि राष्ट्रिय सभा सदस्यमा चुनिएका हुन।

प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रीपरिषद पुनर्गठन गर्दै यादवसहित जसपाबाट तीन जनालाई मन्त्री नियुक्त गरेका थिए। जसमा यादवलाई कृषि तथा पशुपन्छी विकास मन्त्री बनाईएको छ।
 

विशेष