News

ओलीले १ वर्षमा विस्थापित गर्छु भनेको तुईनबाट खसेर ५ वर्षपछि किशोर वेपत्ता

ओलीले १ वर्षमा विस्थापित गर्छु भनेको तुईनबाट खसेर ५ वर्षपछि किशोर वेपत्ता

नेकपा एमालेका अध्यक्ष एवम् तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र तुईन विस्थापित हुन्छ भनेको झण्डै ५ वर्षपछि पनि तुईनबाट खसेर मान्छे मर्ने र वेपत्ता हुने क्रम रोकिएको छैन।

दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित गोठाल घाटमा तुइनबाट खसेर एक किशोर बेपत्ता भएका छन् । भारतबाट घर फर्कने बेला तुइन तरिरहेको अवस्थामा तुइन बाँधिएको ठेसो (खम्बा) टुटेर दुम्लिङका स्थानीय १७ वर्षीय सचिन बुढाथोकी महाकाली नदीमा बेपत्ता हुन् । 

वुढाथोकी भारत उत्तराखण्ड राज्यको धारचुला तहसिल अन्तर्गत गर्वाधार बजारबाट खाने तेल किनेर घर फर्कदै थिए। तुइन टुट्दा महाकालीमा बेपत्ता भएको ब्यास गाउँपालिका–२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले बताए ।

गत वर्ष दार्चुलाकै सीमा क्षेत्रस्थित महाकाली नदीको तुइन भारतीय सुरक्षाकर्मीले काटिदिँदा एक नेपाली नागरिक बेपत्ता भएका थिए ।

तत्कालिन प्रधानमन्त्री ओलीले ०७५ साल भित्र देशका सबै तुईन विस्थापित हुने बताएका थिए। ‘तुईन एराको अन्त भनेको तुईन बन्द गर्नु मात्रै होइन, पछ्यौटेपनको अन्त्य पनि हो,’ उनले भनेका थिए ‘ज्यान खतरामा राखेर स्कुल जाने बालबालिकाको मनोबल उच्च पार्नु पनि हो । जीविकाका लागि पारी तर्छु कि खोलामा खस्छु भन्ने टुगों नहुने युगको अन्त्य हो ।’ 

तुईन विस्थापन फलामको डोरी विस्थापन गर्नुमात्रै नभएको उनको भनाइ छ । उनले भनेका थिए ‘मैले अहिले ९५ वटा तुईन विस्थापन गरिसकेको छु । अब करिब ५० वटा तुईन विस्थापन हुने तयारीमा छ ।’ 
 

तुईन

विशेष