News

भद्रगोल भएर सकियो माओवादी केन्द्रीय समिति बैठक, पदाधिकारी चयन अन्यौल

भद्रगोल भएर सकियो माओवादी केन्द्रीय समिति बैठक, पदाधिकारी चयन अन्यौल

नेकपा माओवादी केन्द्रको १९ असारदेखि जारी केन्द्रीय समिति बैठक विहिवार भद्रगोल अवस्थामा पुगेपछि सकिएको छ। अध्यक्ष पुष्पकमल दाहालले १२५ सदस्यीय पोलिटव्यूरो बनाउने भन्दै तीन पटक नाम पढ्दा पनि पोलिटव्यूरोमा कोको परे भन्ने स्पष्ट नामावली आएको छैन।

अपुरो स्थायी कमिटी र पदाधिकारीसमेत नबनाई केन्द्रीय समितिको तेस्रो बैठक सारिएको छ। दाहालको यो भद्रगोल अवस्था देखेर अन्य नेताहरु भने आश्चर्यचकित भएका छन् । सहमतिमै पदाधिकारी टुंगो लगाउने भन्दै अघि सरेका दाहाल महासचिव कस्लाई वनाउने भन्नेमा अन्यौलमा परेका छन् ।

वर्षमान पुन र जनार्दन शर्माले गुट परिचालन गरी चर्को लबिइङ गरेपछि ‘दुईमध्ये एक रोज्न नसक्ने अवस्था भएको’ भन्दै दाहालले देवप्रसाद गुरुङ र पम्फा भुसालमध्ये एकलाई महासचिव बनाउने संकेत गरेका थिए । तर जर्नादन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएपछि उनी थप संकटमा परेको नेताहरु बताउँछन् । ‘मन्त्रीबाट राजीनामा दिएँ, पार्टीको जिम्मेवारी दिनोस्’ भनेपछि दाहाल समस्यामा परेको एक नेताले बताए । 

उसो त दाहालले २–४ दिनमा पदाधिकारी टुङ्गो लगाउने वताएका छन् । तर, अर्थमन्त्रीमाथि संसदीय विशेष समितिले छानबिन नसकेसम्म यो विषय पनि नटुंगिने नेताहरुको भनाई छ। छानबिनबाट सफाइ पाए शर्मा अर्थमन्त्री बन्ने र महासचिव वर्षमान बन्ने तर जर्नादन दोषी ठहरिए उनी महासचिव बन्ने र वर्षमान अर्थमन्त्री वन्ने नेताहरुको आँकलन छ।


वैठकले पदाधिकारीको टुंगो लगाउने जिम्मा अध्यक्ष पुष्पकमल दाहाललाई दिइएको छ । दाहालले पदाधिकारी चयन गर्नका लागि आफूलाई २–४ दिन समय मागेका थिए । ‘मसँग सूची सबै पदाधिकारीको छ । नाम वाचन गर्न त सक्छु तर मलाई भन्न नलगाउनुस्’ उनले भने–‘२–४ दिनमा सबैको अनुहार उज्यालो हुने गरी चयन गर्छु ।’

बिहीबार नै गठन गरिएको स्थायी समितिका बाँकी सदस्य चयन गर्ने जिम्मा पनि दाहाललाई दिइएको छ । ४१ सदस्यीय स्थायी समितिमा नेकपाकालका १५ जनाको मात्रै नाम टुंगो लागेको जनाईएको छ।
 
माओवादीमा एक अध्यक्ष, एक वरिष्ठसहित ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र १ कोषाध्यक्ष रहने ब्यवस्था छ। हालसम्म अध्यक्षमा दाहाल चयन हुने वाहेक अन्य पदाधिकारीको टुङ्गो लाग्न सकेको छैन। वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ लगभग पक्का जस्तै छन् । 

माओवादीको केन्द्रीय समिति बैठक असार १९ गतेदेखि सुरु भएको हो । १९ र २० गते बैठक बसेर २१ र २२ गते स्थगित गरेर आज बसेको हो । 

विशेष