News

भारतको सहयोगमा कपिलवस्तुमा निर्मित विद्यालय भवन उद्घाटन

भारतको सहयोगमा कपिलवस्तुमा निर्मित विद्यालय भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ। 

काठमाडौंस्थित भारतीय दूतावासका प्रथम सचिव श्री करुण वंशलले विद्यालय भवनको उद्घाटन गरेका हुन। कार्यक्रममा कपिलवस्तु–२ का सांसद बृजेश कुमार यादव, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठ लगायतको पनि उपस्थिति थियो । 

शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत सामुदायिक विकास परियोजनाको रुपमा विद्यालय भवन निर्माण भएको हो। ३ करोड ४० लाखको लागतमा भवन निर्माण भएको जनाईएको छ। भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘इण्डिया एट ७५ आजादीका अमृत महोत्सव’ अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने परियोजनाहरु मध्येको यो विद्यालय पनि एक हो । श्री माध्यमिक विद्यालय कपिलवस्तु जिल्लाको एक पुरानो विद्यालय हो । 

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । ती मध्ये कपिलवस्तु जिल्लाका ५ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् । 
 

विशेष