News

राउटे युवतीलाई यौन दुर्ब्यवहार गर्ने २ जनालाई ७ वर्ष कैद र २ लाख जरिवाना

राउटे युवतीलाई यौन दुर्ब्यवहार गर्ने २ जनालाई ७ वर्ष कैद र २ लाख जरिवाना

राउटे समुदायकी युवतीलाई यौन दुर्ब्यवहार गरेको अभियोगमा दुई जनालाई अदालतले सात वर्ष कैद र जनही दुई लाख जरिवाना तोकेको छ ।

सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार यौन दुर्व्र्यवहार गर्ने चौमन घर्ती मगर र भुपेन्द्र बुढा मगरलाई सात÷सात वर्ष कैद र जनही दुई लाख रुपैयाँ जरिवाना तोकेको हो ।

जिल्ला अदालत सुर्खेतका अनुसार युवतीमाथि यौन दुर्ब्यवहार गरिएको होटलका सञ्चालक मनबहादुर पुनलाई ३ वर्ष ६ महिना कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएको छ । होटल सञ्चालक पुनले कैदसँगै १ लाख रुपैयाँ जरिवानासहित ४ हजार रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने छ भने चौमन र भुपेन्द्रले पीडित कोषमा जनही ८ हजार रुपैयाँ जम्मा गर्नुपर्ने छ ।

जेल सजाय र जरिवाना तोकिएका तीनै जनालाई ०७८ असार १६ गते पुर्पक्षका लागि जेल चलान गरिएको थियो । मनबहादुरले सञ्चालन गरेको बोटेचौरको शुभकामना होटलमा ०७८ जेठ २१ गते राति ९ बजे राउटे युवतीमाथि यौन हिंसा भएको थियो । राउटे युवतीलाई मदिरा खुवाएर यौन हिंसा गरेको भिडियो सार्वजनिक भएपछि २०७८ जेठ २३ गते प्रहरीले उनीहरूलाई प्रक्राउ गरेको थियो ।

फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय हाल सुर्खेतको गुर्भाकोट नगरपालिका–११ आँपसोतीस्थित भेरी नदी किनारमा बस्दै आएका छन् । 

विशेष