News

‘पुष्पकमल दाहाल प्रालि’ बन्ने बाटोमा माओवादी केन्द्र !

‘पुष्पकमल दाहाल प्रालि’ बन्ने बाटोमा माओवादी केन्द्र !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल परिवारवादमा चुर्लुम्म डुवेका छन् । संगठनात्मक संरचनामा देखिने अनुहार हेर्दा पार्टीको नाम ‘माओवादी केन्द्र’ नभएर ‘पुष्पकमल दाहाल प्रालि’ राख्दा पनि हुने अवस्था छ।

दाहालको परिवार मोहका कारण माओवादीभित्र जनयुद्धमा योगदान गरेका नेता/कार्यकर्ताहरू क्रमशः पाखा लगाइँदै छन् भने जनयुद्धको ‘ज’ पनि थाहा नभएका ब्यक्तिहरु दाहालको परिवारका सदस्य भएकै कारण नेतृत्वमा पुगेका छन् । यसका लागि अध्यक्ष दाहालले साम, दाम, दण्ड, भेद सवै उपाय अपनाएका छन् ।

यसको उदाहरण पछिल्लो केन्द्रिय कमिटि वैठकमा पनि देखियो। बैठकमा अध्यक्ष दाहालले कान्छी छोरी गंगा दाहाल र उनका पति जीवन आचार्यलाई केन्द्रीय सदस्य मनोनीत गरे। तर, दाहालको हैकमका अगाडि कसैले ‘चुँ’ पनि गर्न सकेनन्।

दाहालको ज्वाइँ भएकै कारण केन्द्रीय सदस्य बनेका आचार्य नत कहिलै माओवादी आन्दोलनमा देखिए, नत उनको पृष्ठभुमी नै माओवादीको हो । जनयुद्धको ‘ज’ पनि थाहा नभएका आचार्य प्रचण्डका ज्वाइँ भएकै आधारमा केन्द्रीय सदस्य भए। कांग्रेस पृष्ठभूमिका आचार्य ०६४ सालमा गंगासँग बिहे गरेपछि मात्र माओवादीमा जोडिएका हुन्। यसको भित्रभित्रै आलोचना त भइरहेको छ तर अडानका साथ विरोध गर्ने कोही छैन।
 
माओवादीकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पार्टी अध्यक्षले यसको सामान्य विरोध त गरिन तर दाहालले उनको कुरा सनेको नसुनै गरे। वरु उनले बिहीबारको बैठकबाट वरिष्ठ महिला नेतृलाई पाखा लगाउँदै छोरी र बुहारीलाई पोलिटब्युरो सदस्य बनाई दिएका छन्।

पार्टी पोेलिटब्युरो गठनको प्रस्तावसँगै सदस्यहरूको सूची वाचन गर्दा दाहाल परिवारबाट चार जना परेका छन्। दाहालसहित भाइ नारायण दाहाल, छोरी रेनु दाहाल र बुहारी बिना मगरलाई १२५ सदस्यीय पोलिटब्यूरोमा समावेश गरिएको छ।

यसरी परिवारबाट चार जना पोलिटब्यूरोमा अटाउँदा माओवादी द्वन्द्वकालदेखि नै सक्रिय रहेर स्थापित भएका महिला नेतृहरु भने पाखा लागेका छन् । 

यतिमात्र होईन, माओवादी केन्द्रमा दाहालले परिवारवाद घुसाएको घटना यसअघि पनि देखिएका थिए। मन्त्री बनाउँदा, राजदूत नियुक्त गर्दा होस् वा राष्ट्रिय सभामा उम्मेदवार बनाउँदा दाहालले आफ्नै परिवारभित्रकालाई प्राथमिकता दिने गरेका छन।

राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभाको कोटामा समेत आफ्ना भाइ नारायण दाहालको नाम सिफारिस गरे। नारायण दाहालले पुष्पकमल दाहालको भाइ भएकै कारण अवसर पाएको त्यतिबेला माओवादी नेता–कार्यकर्ताले गुनासो गरेका थिए।

नेकपा माओवादी निकट अखिल क्रान्तिकारीमा पनि दाहालको हस्तक्षेप देखियो। कुनै कमिटीमा आबद्ध नभएकी प्रचण्डकी नातिनी सृष्टि केसीले अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य बन्ने अवसर पाईन। अर्कोतर्फ भागबन्डामा पदाधिकारी चयन गरिएको भन्दै विरोध जनाएका उपाध्यक्ष पवन कार्की भने कारवाहीमा परेका छन्।

उनले अखिल क्रान्तिकारीमा समानान्तर कमिटि सुरु गरेका छन् ।

पुष्पकमल दाहाल नेकपा माओवादी केन्द्र परिवारवाद पुष्पकमल दाहाल प्रालि

विशेष