गोली लागेका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन
गोली लागेर गम्भिर घाईते भएका जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । उनलाई कार्यक्रममा सम्बोधन गरिरहेको बेला गोली प्रहार भएको थियो ।
चुनावी अभियान अन्तर्गत आज बिहान नारा शहरको सडकमा आयोजना गरिएको कार्यक्रममा गोली लागेपछि भुइँमा लडेका उनलाई तत्कालै नारा युनिभर्सिटीको अस्पताल लगिएको थियो ।
गोली लागेपछि बेहोस भएका उनलाई तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएपनि उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए । यद्यपि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा उनी अझै पनि प्रभावशाली नेताको रुपमा रहेका थिए।
जुलाई १० मा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले भाषण गरिरहेको बेला गोली प्रहार भएको थियो ।