News

बालेन्द्र विवादमाः धरहरालाई ‘सेतो टावर’ भन्दै -यापर यमबुद्धको शालिक बनाउने निर्णय

बालेन्द्र विवादमाः धरहरालाई ‘सेतो टावर’ भन्दै -यापर यमबुद्धको शालिक बनाउने निर्णय

सुन्धार स्थित धरहरालाई ‘कंक्रिटको सेतो टावर’ भन्दै आलोचना गरेका काठमाण्डौं महानगरपालिकाका मेयर बालेन्द्र साहले कंक्रिटकै संरचनालाई प्राथमिक्तामा राखेका छन् । मेयर साहले महानगरपालिकाको बजेटबाट १५ लाख रूपैयाँसम्म खर्च गरेर -यापर यमबुद्धको शालिक बनाउने निर्णय गरेका छन् । 

चुनाव अघि प्राथमिकताविपरीत विभिन्न व्यक्तिको शालिक, प्रवेशद्वार लगायतमा बजेट खर्च गर्ने प्रवृत्ति देखिएको भन्दै उनले विरोध गरेका थिए । तर, उनी स्वयमले पनि यमबुद्धको शालिक वनाउने निर्णय गरेर त्यसलाई निरन्तरता दिएका हुन्।

आफ्नो फेसबुकबाट यमबुद्धको शालिक निर्माणसम्बन्धी जानकारी साहले सार्वजनिक गरेका छन्। उनले लेखेका छन्–‘काठमाण्डु मेट्रो ह्याज एनाउन्सड टु ब्युल्ड स्ट्याचु अफ यमबुद्ध सुन (काठमाडौं मेट्रोले छिट्टै यमबुद्धको मूर्ति बनाउने घोषणा गरेको छ।)’ बालेन्द्रको सचिवालयका प्रवक्ता भूपदेव शाहले पनि ‘-यापर यमबुद्धको योगदानको कदर गर्दै शालिक निर्माण गर्न लागेको’ पुष्टि गरे।

यमबुद्धको शालिक बनाउन काठमाडौं महानगरले बजेट नै छुट्याइसकेको उनले वताए । ‘यमबुद्धको शालिक निर्माण गर्न महानगरबाटै बजेट राखेका छौं। दसदेखि पन्ध्र लाख रूपैयाँसम्ममा शालिक बनाउने कार्यक्रम छ।’– उनले भने। तर, शालिक कहाँ राख्ने भन्ने चाहिँ यकिन नभएको उनले बताए।

यमबुद्धले नेपाली हिपअप संगीतलाई अन्तर्राष्ट्रियकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेकाले शालिक बनाउन लागेको भूपदेवको भनाइ छ। लन्डनमा आत्महत्या गरेका यमबुद्धको वास्तविक नाम अनिल अधिकारी हो। बालेन आफैं हिपहप संगीतमा लागेकाले पनि यमबुद्धको योगदानको कदर गर्न खोजेको उनले उल्लेख गरे।

बालेन शाहको यस्तो घोषणापछि सामाजिक सञ्जालमा धेरैले विरोध गरेका छन्। काठमाडौं महानगरले आफ्ना अनेक आवश्यकता र प्राथमिकताविपरीत शालिक निर्माणलाई अघि बढाएको भन्दै धेरैले असन्तुष्टि जनाएका छन्।

‘प्रचण्डले छोराको मुर्ति बनायो, बालेनले एउटा -यापरको मुर्ति बनाउन लागे, फरक के रह्यो र यी दुईमा’ रोशन प्रसाईले कमेन्टमा लेखेका छन्–‘पद र शक्तिको दुरुपयोग नगर। यम बुद्ध एउटा विधाका गायक हुन्, एउटा निश्चित समूह र उमेरका युवाहरुले उनलाई चिन्छन्। यद्यपी आत्महत्या गरेर युवाहरुलाई मिसलिड गरेको यथार्थता पनि छदैछ। सांगितिक क्षेत्रमै यमबुद्ध भन्दा धेरै अग्रज व्यक्तित्वहरुको लाईन छ मुर्तिका लागि।’

यसैगरी, नेपाली कृष नामका फेसवुक प्रयोगकर्ताले ‘काठमाडौंमा यामबुद्धको शालिक होइन। गुणस्तरीय सेवा चाहिएको छ। एक पटक सोच्नु होस त । चुनावको बेलामा के वाचा गर्नु भएको थियो’ भन्दै लेखेका छन् भने निशा रुम्बाले ‘यो निर्णय मलाई सहि लागेन । यम बुद्ध राम्रो -यापर थिए । यसमा कुनै दुइमत छैन तर तपाईंलाई परिवर्तन र विकासको लागि त्यस पदको लागि चुनेका थिए। पहिला प्राथमिकताको काम गर्नुस यस्ता मुर्तीहरुको बारेमा पछी सोच्नुहोला । यो त केपी शर्मा वलिले भ्यु टावर निर्माण गरे जस्तै भयो’ भन्दै कमेन्ट गरेका छन् ।

भीम गुरुङले ‘मित्र बालेन कलालाई माया गर्नु, जगेर्ना गर्नु तपाई हामी सबैको कर्तव्य हो। तर जनताको करबाट यि काम नगरौ । तपाईं र अरु मा केही भिन्नता छ यिनै कुरा बाट हुने हो । तपाई केबल काठमांडूको मात्रै मेयर हैन कि देशकै रोलमोडल बन्नुस । शुभकामना।’ भनेका छन् भने प्रजिता दंगालले ‘बालेको बुद्वि बिग्रीए पछि ... गरिव बाट असुलेको करले आत्महत्या गर्ने -यापेको शालिक बनाएर के सन्देस दिन खोजेका हुन ?? आत्म हत्या गर्नेलाइ समाजबाट तिरस्कार गर्ने हो – प्रोत्साहन होइन !!’ भन्दै शालिक निर्माणको विरोध गरेका छन्।

प्रशन्न संग्रौलाले ‘यमबुद्ध एउटा गायक त होलान् तर उनको सालिक आफन्त वा उसका प्रशंसकहरुले उनीहरूको आ–आफ्नो घरमा बनाउन सक्छन! सार्वजनिक सम्पति खर्च गरेर उनको सालिक सार्वजनिक स्थलमा बनाउन कुनै पनि हालतमा दिनुहुदैन! आत्महत्या गर्ने र युवा पुस्तालाई लागुपदार्थको कुलतमा लगाउने जस्ता उनको यो कालो पाटो बिर्सनु हुँदैन!’ भन्दै बालेनको निर्णयको प्रतिवाद गरेका छन् । स्टप दिस बुलसिट थिङस बालेन भान्जा! फोकस अन काठमाडौंका जनताको जीवनस्तर उकास्न!!’ भन्दै प्रतिवाद गरेका छन्।

यता, वडाध्यक्षहरू कसैसँग सरसल्लाह नगरी महानगरको बजेटबाट यमबुद्धको शालिक निर्माण गर्ने निर्णयले महानगरभित्रै पनि असन्तुष्टि छ। शालिक वनाउने बारे सरसल्लाहसमेत नगरी एकतर्फी रूपमा प्रस्ताव ल्याएको एक वडाध्यक्षले बताए। 
 

बालेन्द्र साह यमबुद्ध

विशेष