News अपराध सुरक्षा

काठमाण्डौंमा चिनियाँको कल सेन्टर: अमेरिका र क्यानडामा ठगी

काठमाण्डौंमा चिनियाँको कल सेन्टर: अमेरिका र क्यानडामा ठगी

नेपालको संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न सहरमा कल सेन्टर सञ्चालन गरेर अमेरिकी तथा क्यानडियन नागरिकलाई ठगी गर्ने गरेको खुलेको छ। काठमाडौंको सामाखुशीस्थित अर्बिट नेक्सस प्रालिको नाममा कल सेन्टर सञ्चालन गरी ठगी गरेको आरापमा असार पहिलो साता पक्राउ परेकाहरुबाट यो तथ्य वाहिर आएको हो ।

प्रहरीले अर्विट नेक्सनबाट २ भारतीयसहित १३ जनालाई पक्राउ गरेको थियो। कल सेन्टर सञ्चालक मध्ये भारतीय नागरिक सुपरभाइजर ३२ वर्षीय निशान्त अनिल खैरे र कामदार मनिटर गर्ने २४ वर्षका मनिष तिवारी थिए।

उक्त कल सेन्टरबाट ९० वटा कारोवार भएको र सयौं ब्यक्ति ठगीमा परेको आशंका गरिएको थियो। साइबर ब्यूरोका एसएसपी नविन्द अर्यालका अनुसार कल सेन्टरबाट ६८२ अमेरिकी र १८ जना क्यानडाका नागरिक ठगिएको पत्ता लागेको छ।

‘अर्बिट नेक्सस प्रालि’को सञ्चालकको भुमिकामा भने बुढानिलकण्ठ नगरपालिका–१२ कपन बस्ने ३३ वर्षीय विजय श्रेष्ठ छन् । उनलाई जिल्ला अदालत काठमाडौंले ३ लाख धरौटीमा रिहा गरिसकेको छ। तर, यसको पछाडि चीनियाँ नागरिक संलग्न भएको अनुशन्धानमा संलग्न प्रहरी अधिकारीहरु वताउँछन् ।

उनीहरुका अनुसार चीनीयाँ नागरिकले काठमाण्डौंमा वसेर विद्युतीय अपराधको श्रृंखला नै चलाएका छन् । गत साउन १२ गते प्रहरीले विद्युतीय ठगी तथा अनलाइन जुवा खेलाएको आरोपमा ठमेलबाट चीनियाँ नागरिक ४८ वर्षीय सु सुजीसहित ४ जनालाई पक्राउ गर्यो। साउन ८ गते काठमाडौंको तीनकुनेस्थित गैरिगाउँमा चिनियाँ लगानीमा सञ्चालित ‘स्काई वल्र्ड सर्भिस सेन्टर’ कम्पनीको आवरणमा अवैध कल सेन्टर चलाइरहेका ४३ वर्षीय चिनियाँ नागरिक हु एन्ह्वा, भारतीय नागरिक मनोज शैनी, नेहा गुप्तालगायतका ब्यक्ति पक्राउ परेका थिए। पोखरा, बुटवल, चितवन लगायतका स्थानमा पनि प्रहरीले विभिन्न अप्रेसन चलाएर चीनियाँ तथा नेपाली नागरिकलाई पक्राउ गरेको छ।

जसमध्ये ०७९ वैशाख १३ गते महाराजगञ्जबाट पक्राउ परेका २२ चिनियाँ नागरिकलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको थियो। तर, विभागले साँझ नपर्दै उनीहरुलाई गुपचुप छाडिदियो। ०७८ फागुन १० गते काठमाडौंको मध्यबानेश्वरबाट २७ जना चीनियाँ नागरिक पक्राउ परे।

पहिलो पटक ०७६ पुस ७ गते प्रहरीले १२२ जना चीनियाँ नागरिकलाई पक्राउ गरेको थियो । तर, ती सवै चीनियाँ नागरिक अभद्र व्यवहारको कसूरमा एक–एक हजार रुपैयाँ धरौटी तिरेर छुटे । यसरी धभाधम चीनियाँ नागरिक पक्राउ गर्न थालेपछि अहिले अपराधको शैली फेरिएको छ। पहिला आफनै नाममा कल सेन्टर चलाउने चीनियाँ नागरिक अहिले पर्दापछाडि वसेर काम गर्छन। अहिले अधिकांश कल सेन्टर नेपाली नागरिकका नाममा छन् ।

त्यसैले पक्राउ पर्दा पनि नेपाली नै पक्राउ पर्छन, तर त्यसको मुख्य ब्यक्ति भने चीनियाँ नागरिक नै हुने गरेको अनुसन्धानमा संलग्न प्रहरीहरुको दावी छ। प्रहरीका अनुसार अर्बिट नेक्सस प्रालि’का सञ्चालक बुढानिलकण्ठ नगरपालिका–१२ कपन निवासी विजय श्रेष्ठको घट्ना पनि यही हो।

दुई वर्ष अघि नेपालस्थित चिनियाँ दूतावासले झण्डै ३ हजार चीनियाँ नागरिकले नेपालमा बसेर अवैध गतिविधि गरिरहेको सूचना नेपाल प्रहरीलाई दिएको थियो। त्यसपछि नेपाल प्रहरीले धमाधम कल सेन्टरमा छापा मार्न थालेपछि चीनियाँहरुले लुकेर कारोवार गर्न थालेका छन् । त्यसैले उनीहरुको अपराध पुष्टि गर्न प्रहरीलाई पनि हम्मे हम्मे परिरहेको छ। 

चीनियाँ नागरिकहरु भिजिट भिसामा आएर ६÷६ महिनामा रिन्यू गर्दै अवैध काम गरेर बस्ने गरेको प्रहरीले जनाएको छ। नेपालमा चीनियाँ नागरिकहरु सुन तस्करी, नेपाली बेहुलीको चीनमा तस्करी, चोरी, विदेशी मुद्रा तस्करी, एटीएम ह्याकिङ लगायतका कसूर गर्दै आएको पाईएको छ।

कल सेन्टरबाट यसरी हुन्छ ठगी
पक्राउ परेकाहरुको वयानका आधारमा माइक्रोसफ्ट सपोर्ट सेन्टरका नाममा ठगी हुने गरेको छ। माईक्रोसफ्टबाट भन्दै इमालेलमा म्यासेज पठाएर ठगीको सुरुवात गरिन्छ। विद्युतिय सामग्रीमा सुचना पठाएर युजरको डिटेल लिएपछि ह्याक गरेर बैंक खाताको रकम ट्रान्सफर गर्ने गरेका पाईएको छ।

प्रहरीका अनुसार भारतमा सञ्चालित कल सेन्टरसँग समन्वय गरेर काठमाडौंबाट अमेरिकामा ठगी हुने गरेको छ। माइक्रोसफ्ट सपोर्ट सेन्टरबाट भन्दै कम्प्युटरमा म्यासेज पठाएर बैंक खाता लगायतका निजी सूचना माग गरेर पैसा ठगी गरेको हालसम्मको अनुसन्धानबाट पत्ता लागेको छ।

खासगरी, प्रविधि क्षेत्रका ठूला कम्पनीमा ग्राहकको सुविधाका लागि कस्टमर कल सेन्टर सञ्चालन गरिएको हुन्छ। सेवाग्राहीले उनीहरूको प्लेटफर्म प्रयोग गर्दा आएका समस्याको समाधान गरिन्छ। 

विजय श्रेष्ठ संचालक रहेको अर्बिट नेक्सस प्रालि पनि रियलस्टेटको कारोवार गर्ने उल्लेख गरेर सञ्चालनमा थिए । तर, उक्त कम्पनीले मुम्बईका निशान्त खैरे र मनिष तिवारीलाई भर्ती गरेर विदेशी ठग्ने धन्दा (कल सेन्टर) सुरु गरेको पाईएको छ।

ती दुई जना भारतीयले नेपाली कर्मचारीहरु मार्फत पीडितहरुको बैङ्किङ विवरण, विभिन्न अकाउन्टका युजरनेम र पासवर्ड हात पार्थे। जुन सुचना सामाखुसी र धुमबाराहीस्थित कार्यालयबाट भारतमा टेलिग्राम एपमार्फत पठाइन्थ्यो। जसबाट उनीहरूले पीडितको खाताबाट रकम निकाल्ने गरेको पाईएको छ।

प्रहरीको साइबर ब्युरोका अनुसार उनीहरुले अमेरिकामा बसोबास गर्ने सेवा निवृत्त कर्मचारी, पर्याप्त पैसा भएका तर प्रविधिको ज्ञान नभएका ब्यक्तिलाई छनौट गर्ने गरेका थिए । उनीहरुले सुरुमा युजरको ल्यापटप वा डेस्कटपमा अश्लील कार्यमा डिभाइसको सिस्टम प्रयोग भएको जस्तो देखिने गरी नोटिफिकेसन पाठाउँथे।

नोटिफिकेसनमा माइक्रोसफ्ट सपोर्टका लागि भनी एउटा नम्बर उपलब्ध गराइएको हुन्छ । गिरोहको भारतमा भएको कार्यालयले पीडितलाई माइक्रोसफ्टको भनेर नक्कली नम्बर उपलब्ध गराउँथ्यो । युजरले गिरोहले उपलब्ध गराइएको नम्बरमा कल गर्छन्। त्यो कललाई ‘गोएजेन्ट’ नामक एप प्रयोग गरी डाईभट गरेरे धुमबाराहीस्थित कल सेन्टरमा पुर्याइन्थ्यो।

त्यहाँ उनीहरूले ‘३४७सिएआरइ डट युएस’ नामको वेबसाइटको प्रयोग गर्थे, जसले कल सेन्टरका स्टाफलाई पीडितको रिमोट कन्ट्रोल एक्सेस उपलब्ध गराउँथ्यो । त्यसका लागि धुम्बाराहीस्थित कर्मचारीले पीडितलाई माथि उपलब्ध साइटमा जाँदा समस्या समाधान हुन्छ भनेर सुझाव दिन्थे । जब पीडितहरु वेबसाइटमा जान्थे त्यही समयमा भारतमा बस्ने गिरोहको समूहले ४ अंकको सोर्स कोड उपलब्ध गराउँथे।

सोर्सकोड वेबसाइटमा राखेपछि पीडितको डिभाइस स्क्रिनमा देखिनै सवै चिज गिरोहको कन्ट्रोलमा आउँथ्यो। तर, यो कुरा पीडितलाई जानकारी हुँदैन। त्यसपछि कल सेन्टरबाट ‘एक्स लाइट एप्लिकेसन’ मार्फत कल गरिन्थ्यो भने अर्कोतर्फ उनीहरूले ‘योर आईपी एड्रेश ह्याज बिन ह्याक्ड एण्ड योर नेटवर्क इज कम्प्रमाइज्ड’ भन्ने म्यासेज पठाईन्थ्यो।

यो म्यासेज पढेपछि पीडितहरु डराउँथे र गिरोहका सदस्यलाई माइक्रोसफ्टकै मान्छे सम्झेर उनीहरुले भनेको सवै मान्दै जान्थे। त्यसपछि विभिन्न कुराको डर देखाई आफ्नो साइटमा बैङ्किङ विवरण भर्न र बैङ्क अकाउन्टमा लगइन गर्न लगाइन्थ्यो।

यसपछि पीडितको सिस्टम, उनीहरूको बैङ्क विवरण र सबै जानकारी कल सेन्टरका माध्यमबाट सुपरभाईजर भनिएका भारतीय नागरिक निशान्तकहाँ पुग्थ्यो। पीडितको सम्पूर्ण विवरण पाएपछि रकम निकाल्ने काम भने भारतबाट हुने गरेको प्रहरीले जनाएको छ।

यो पनि,

कल सेन्टर

विशेष