News अपराध सुरक्षा

श्रीमान श्रीमतीको झगडा: परिवारै गुमाएर एक्लै परे पुस्कर

श्रीमान श्रीमतीको झगडा: परिवारै गुमाएर एक्लै परे पुस्कर

बझाङको बुंगल नगरपालिका–९ रारुमा छोराछोरीसहित २२ वर्षीया गीता पार्की मृत भेटिएको प्रकरणमा श्रीमान श्रीमतीको झगडा प्रमुख कारण भएको खुलेको छ। तर, प्रहरीले यसको पुष्टि भने गरेको छैन।

बुधबार बिहान करिब ६ बजे स्थानीय पुष्कर पार्कीकी श्रीमती गीतासँगै उनका ५ वर्षीया छोरी भूमिका र ३ वर्षीय छोरा मोहित रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। पुष्करको गीतासँग सानैमा बिहे भएको थियो। १७ वर्षकै उमेरमा गीताले छोरी जन्माइन् भने २० वर्षको उमेरमा छोरा। 

आर्थिक अवस्था सामान्य भएका कारण जिवन निर्वाहका लागि पुस्कर अधिकांश समय भारत आउजाउ गर्थे। सवारी चालक समेत रहेका उनी यस पटक पनि एक महिना पहिले भारत पुगेका थिए। तर, गत मंगलबार मात्रै घर फर्केका उनले त्यसको भोलीपल्टै श्रीमती र छोराछोरी गुमाउनु पर्यो । पुष्कर घर पुगेकै राति श्रीमती र छोराछोरी मृत भेटिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

जानकारी अनुसार पुष्कर भारतमा रहेकै वेला स्थानीय झलक नेपालीले ०७८ असार १९ गते गीतालाई बलात्कार गरे। गीताले हल्ला गरेपछि गाउँलेले उनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाए । उनी अहिले पुर्पक्षका लागि बझाङ कारागारमा छन ।

यही घटनापछि पुष्कर र गीताबीच खटपट सुरु भएको पुष्करका दाजु गणेश बताउँछन् । पुष्करले गितामाथि चरित्रहिनको आरोप समेत लगाएको पाईएको छ। बेलाबेलामा झगडा पर्ने गरेको स्थानीयहरु वताउँछन् ।

एक हप्ताअघि पनि पुस्कर र गिताका विचमा फोनमै झगडा परेको खुलेको छ। भारतबाट फोन गर्दा मोवाइल व्यस्त भएपछि पुष्कर श्रीमतीसँग रिसाएका थिए । त्यसपछि पुष्कर मंगलबार घर फर्किए । बाटोमा मदिरा सेवन गरेर राति अबेर घर पुगेका पुष्करको श्रीमतीसँग भनाभन भएको थियो ।

‘तिम्रो श्रीमती घरमा बस्दिनन्, गाउँ घुमेर वस्छिन्’ भन्दै गाउँलेले सुनाएपछि त्यस विषयमा कुरा गर्दा श्रीमतीसँग विवाद भएको पुस्करले स्विकारेका छन् । त्यसपछि आफू सुतेको र बिहान घरमा श्रीमती र छोराछोरीलाई नै नदेखेको उनले वताएका छन् ।

बुधबार बिहान करिब ६ बजेतिर उनकी श्रीमती गीता, ५ वर्षीया छोरी भूमिका र ३ वर्षीय छोरा मोहित घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।

जिल्ला प्रहरी कार्यालय वझाङले घटनाको प्रकृति हेर्दा झुन्डिएर आत्महत्या गरेको जस्तो देखिएको जनाएको छ। तीनै जनाको शरीरमा घाउचोट नदेखिनुले पनि आत्महत्या नै हुन सक्ने प्रहरी निरीक्षक रमेश अवस्थीले बताए । 
 

विशेष