News विदेश स्वास्थ्य

चीनमा फेरी भेटियो नयाँ भाईरस, हालसम्म ३५ जना संक्रमित

चीनमा फेरी भेटियो नयाँ भाईरस, हालसम्म ३५ जना संक्रमित

कोरोना भाईरसको उद्गम स्थलका रुपमा चिनिएको चीनमा फेरी नयाँ भाईरस फेला परेको छ। पूर्वी चीनको शानदोंग तथा हेनान प्रान्तमा नयाँ भाइरस ‘लांग्या हेनिपा’ (ले भी) बाट ३५ जना संक्रमित बिरामी भेटिएका छन् ।

यो भाईरस जनावरबाट सरेको आशंका गरिएको छ। यो भाइरस २६ प्रतिशत जंगली छुचुन्द्रोमा, ५ प्रतिशत कुकुर र २ प्रतिशत बाख्रामा पनि देखिएको छ ।

सिंगापुरको ड्युक–एनयूएस मेडिकल स्कुलका वाङ लिन्फाका अनुसार अहिलेसम्म यो भाइरसले जटिल तथा सिकिस्त हुने गरी संक्रमित बनाएको भने भेटिएको छैन। ज्वरो आइरहेका बिरामीहरुलाई अनुसन्धानकर्ताले नियमित निगरानीमा राखेर परीक्षण गर्दा यो भाइरस पुष्टि भएको हो ।

संक्रमित धेरैलाई ज्वरो आउने, थकाइ लाग्ने, खोकी लाग्ने, भोक नलाग्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, टाउको दुख्ने आदि लक्षणहरु देखिएका छन् । यी लक्षणहरुले कति समयसम्म बिरामी बनाउने र मानिस–मानिसबीच यो संक्रमण सर्न सक्छ की सक्दैन भन्ने प्रमाण अझै फेला परेको छैन । संक्रमितलाई निमोनिया तथा कलेजो र मिर्गौलामा समस्या देखिएको छ ।

‘ले भी’ भाइरस एक प्रकारको हेनिपा भाइरस हो र यो जुनोटिक भाइरसको वर्गमा पर्दछ । यो जनावरबाट मानिसमा सर्न सक्छ । यूएस सेन्टर फोर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार मानिसहरुमा देखिने हरेक चार नयाँ संक्रामक रोगहरुमध्ये ३ वटा जनावरबाट आउने वैज्ञानिकहरुको आंकलन छ।

जुनोटिक भाइरसहरु मानिसहरुकालागि निपाह भाइरस र हेन्ड्रा भाइरस जस्तै घातक पनि बन्न सक्ने उनीहरु वताउँछन् । हेन्ड्रा भाइरस १९९४ मा क्विन्स्ल्यान्डमा भेटिएको थियो जहाँ १४ जना घोडाको मृत्यु हुनुका साथै ट्रेनरको पनि मृत्यु भएको थियो ।

अष्ट्रेलियामा ४ जनाको मृत्यु भएको थियो । निपाह भाइरस पहिलोपल्ट १९९९ मा देखिएको थियो । 
 

लांग्या हेनिपा

विशेष