News अपराध सुरक्षा

परपुरुषसँग सम्वन्ध रहेको भन्दै श्रीमतीलाई आगो लगाउने श्रीमान पक्राउ

परपुरुषसँग सम्वन्ध रहेको भन्दै श्रीमतीलाई आगो लगाउने श्रीमान पक्राउ

श्रीमती र सासुलाई आगो लगाएर भागेका महोत्तरी औरही नगरपालिका–८ टिमकियाका शंकर सदा ५ दिनपछि पक्राउ परेका छन् । भारतीय प्रहरीको सहयोगमा नेपाल–भारत सीमा सम्सीबाट उनलाई विहिवार प्रहरीले पक्राउ गरेको हो । 

शंकरले विहिवार राती भंगहा नगरपालिका ९ कञ्चनवनकी सासु ६५ वर्षीया रेसमादेवी सदा र श्रीमती ३५ वर्षीया प्रमिलादेवी सदाको शरीरमा पेट्रोल खन्याएर आगो लगाई भागेका थिए । प्रहरीले उनलाई विहिवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

महोत्तरी प्रहरीका डिएसपी प्रकाश विष्टका अनुसार श्रीमती प्रमिलाको परपुरुषसँग अवैध सम्बन्ध रहेको आशंकामा उनले आगो लगाई दिएको खुलेको छ । उनी तीन छोराकी आमा हुन। वैदेशिक रोजगारबाट फर्केपछि शंकर पछिल्लो एक वर्षदेखि ससुरालीमै बस्दै आएका थिए । 

श्रीमतीको परपुरुषसँग सम्वन्ध रहेको विषयमा शंकरले पटक पटक झगडा गर्ने र कुटपिट गर्ने गरेका थिए । शरिरमा आगो लागेर घाइते भएका दुवै जनाको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा भइरहेको छ । आगोले रेसमादेवी सदाको पिठ्युँ, पाखुरा र बायाँ खुट्टा जलेको छ भने प्रमिलादेवी सदाको हात, खुट्टा र छाती जलेको छ ।

रेसमा ०७४ को स्थानीय निर्वाचनमा सोही वडामा दलित महिला वडा सदस्य पदमा निर्वाचित भएकी थिइन् ।
 

विशेष