News

कस्ले च्यात्यो रवि लामिछानेको फोटो अंकित पार्टीको पोष्टर ?

कस्ले च्यात्यो रवि लामिछानेको फोटो अंकित पार्टीको पोष्टर ?

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको पोष्टर च्यातिएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा हुन लागेको पार्टीको भेलाको प्रचारका लागि झुन्ड्याईएको लामिछानेको फोटो अंकित पोष्टर च्यातिएको हो ।

हेटौँडाको रोयल पार्टी प्यालेसमा राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रवारका लागि जिल्ला भेलाको आयोजना गरेको छ। त्यसैको प्रचारका लागि हेटौँडाको बुद्धचोबाट सीमा चोक क्षेत्रमा टाँगिएको पोष्टर विहिवार बिहान च्यातिएको अवस्थामा फेला परेको हो।

पोष्टर बुधबार साँझ टाँगिएको थियो। ब्यानरहरू कसले च्यातेको हो भन्ने बारेमा कुनै जानकारी छैन। यस विषयमा लामिछानेको पनि प्रतिक्रिया आएको छैन। यद्यपी कार्यक्रम प्रचारको लागि राखिएको पोष्टर कस्ले च्यात्यो भन्ने विषयमा विस्तृत अध्ययन भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

एक महिनाअघि पार्टी घोषणा गरेका लामिछाने त्यसपछि संगठन विस्तार र कार्यकर्ता भेलामा आक्रामक रुपमा लागि रहेका छन् । आउँदो मंसिर ४ गते एकैचरणमा प्रदेश र प्रतिनिधिसभा चुनाव गर्ने सरकारको घोषणासँगै उनको दौडाहा अझै तिव्र भएको छ।

१७ असारमा लामिछाने नेतृत्वको पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो । घण्टी चुनाव चिन्ह पाएको पार्टीलाई विस्तार गर्न लामिछाने यतिबेला पुर्वदेखि पश्चिमसम्मका विभिन्न जिल्लामा छन् । उनले प्रदेश, जिल्ला र स्थानीय समितिहरू पनि वनाईरहेका छन्। 

निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाएकै महिना असारभित्रै लामिछानेले प्रदेश १ पुगेर मातहतका समितिहरू निर्माण गर्न भ्याएका थिए । असार ३० गते झापा भेला, ३१ गते सुनसरी भेला र ३२ गते विराटनगर पुगेर प्रदेश तथा जिल्ला भेला समापन गरेका उनले २३ असारमा चितवनमा जिल्ला तथा स्थानीय समितिहरू बनाए।

आगामी चुनावमा सकेसम्म देशभरबाट उम्मेदवार उठाउने तयारी गरेका लामिछाने सुरुकै प्रयासमा राष्ट्रिय पार्टी बन्ने लक्ष्यसहित संगठन निर्माणमा जुटेका छन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार, प्रत्यक्षमा कम्तिमा १ र समानुपातिकमा तीन प्रतिशत मत ल्याउने पार्टीले राष्ट्रिय दलको मान्यता पाउँछ । 

उनी आफैँ भने काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने योजनामा छन् । प्रमुख राजनीतिक दलका गतिविधिबाट निराश मत राष्ट्रिय स्वतन्त्र पार्टीलाई आउने विश्वास लामिछानेको टिमले गरेको छ।
 

रवि लामिछाने

विशेष