News राजनीति

गठवन्धनमा पार्टीको हैसियत पत्ता लगाउनै सकसः वडा तहबाट समाधान खोजिने

गठवन्धनमा पार्टीको हैसियत पत्ता लगाउनै सकसः वडा तहबाट समाधान खोजिने

पाँच दलिय गठवन्धनका दलहरुको पार्टीगत हैसियत पत्ता लगाउँदा नेताहरुलाई हम्मे–हम्मे परेको छ। स्थानीय तह निर्वाचनमा मोर्चा बनाएर चुनाव लडेका कारण कुल दलको हैसियत के भन्नेमा नेताहरु दुविधामा परेका छन् ।

त्यसैले सिटबाँडका लागि गठित ११ सदस्यीय कार्यदलले पार्टीको हैसियत मापन गर्न वडा तहमा पुग्ने निर्णय गरेको छ। बैठकले कुन पार्टीको वास्तविक धरातल र शक्तिको आधार के हो भन्नेबारेमा निचोडमा पुग्न वडा तहमै पुग्नु पर्ने निस्कर्ष निकालेको हो । जसका लागि ०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत भन्दा विस्वसनिय आधार अर्को हुन नसक्ने नेताहरुले वताएका छन् ।

स्थानीय स्तरमा पालिकाको प्रमुख र उपप्रमुख पदमा तालमेल भए पनि केही अपवादबाहेक वडा तहमा तालमेल नभएकाले गठबन्धनमा आबद्ध दलको मुख्य शक्तिको आधार वडा तहमा प्राप्त मत बन्न सक्ने नेताहरूले वताएका थिए ।

यही निस्कर्षका कारण विहिवार वसेको कार्यदलको वैठकले ०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षमा प्राप्त मत र ०७४ को संसदीय निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक मतलाई आधार मानेर सिट बाँडफाँट ‘मोडालिटी’ तयार पार्ने निर्णय गरेको छ ।

मोडालिटी तयार पार्दा शीर्ष नेताहरूको निर्वाचन क्षेत्रको संवेदनशीलतालाई समेत प्राथमिकतामा राख्नुपर्नेमा नेताहरूले जोड दिएका छन । 

नेताहरुका अनुसार ०७४ को प्रतिनिधिसभा निर्वाचनलाई आधार बनाउँदा प्रत्यक्षमा जसले जितेको छ, त्यही पार्टीले उक्त निर्वाचन क्षेत्र पाउने सैद्धान्तिक आधार बनाइएको छ । यसलाई आधार बनाउँदा गठबन्धनका शीर्ष नेताहरूको निर्वाचन क्षेत्र व्यवस्थापन गर्नुपर्ने उनीहरूको भनाइ थियो । तनहुँ–१ मा कांग्रेस नेता रामचन्द्र पौडेल निर्वाचन लड्दा ०७४ मा चुनाव जितेका किसान श्रेष्ठ, झापा–१ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मालाई उम्मेदवार वनाउँदा माओवादी नेता राम कार्की, सिन्धुपाल्चोक–१ मा माओवादीबाट सभामुख अग्नि सापकोटालाई उम्मेदवार बनाउँदा कांग्रेसका मोहनबहादुर बस्नेत, डोटीमा एकीकृत समाजवादीका प्रेमबहादुर आलेलाई उम्मेदवार वनाउँदा कांग्रेसका वीरबहादुर बलायरलगायतलाई कसरी ब्यवस्थापन गर्ने भन्नेमा नेताहरु अलमलमा परेका छन् ।

एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले सिट बाँडफाँट न्यायोचित आधारमा गरेर विश्वासको वातावरण निर्माण गर्ने दिशामा कुराकानी भइरहेको बताए । जसपाबाट कार्यदलका सदस्यसमेत रहेका रामसहायप्रसाद यादवले साउन ३० मा बस्ने बैठकले सिट बाँडफाँटको ‘मोडालिटी’ बनाउने र त्यसका आधारमा मात्रै संख्याको विषय प्रवेश गर्ने बताए ।
 

कार्यदल

विशेष