News राजनीति

रुकुम पश्चिममा सिटबाँडफाँडमा सकसः डेन्जर जोनमा जनार्दन

रुकुम पश्चिममा सिटबाँडफाँडमा सकसः डेन्जर जोनमा जनार्दन

सत्ता गठवन्धद्वारा गठित कार्यदल प्रदेश र प्रतिनिधि सभाको सिट बाँडफाँड जुटेको छ। तर, सिट बाँडफाडको विषय सहज देखिएको छैन। कार्यदलले शिर्ष नेताको सुरक्षालाई ध्यानमा राखेर सिट वाँडफाड गर्ने प्रकृया सुरु गर्दै गर्दा अर्थमन्त्रीसमेत रहेका माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जनार्दन शर्मा भने डेन्जर जोनमा परेका छन् ।

उनको निर्वाचन क्षेत्र रुकुम पश्चिममा कांग्रेसले दावी गरेको छ। रुकुम पश्चिमका कांग्रेस जिल्ला सभापति प्रेमप्रकाश ओलीले माओवादीबादीसँग तालमेलका लागि ३ वटा सर्त अगाडि सारेका छन् । सर्त नमान्ने र कांग्रेसको भागमा प्रतिनिधिसभा सदस्य नपरे एक्लाएक्लै चुनावमा जाने उनको चेतावनी छ।

उनको पहिलो सर्त जनार्दनले यस पटक रुकुम पश्चिममा कांग्रेसलाई छोड्नुपर्छ भन्ने मै छ। त्यसो हुन नसके प्रदेशसभाका दुवै सिट कांग्रेसलाई दिनुपर्छ उनको दोस्रो सर्त छ। तेस्रो सर्तमा भने उनले रुकुमेली कांग्रेसको प्रतिनिधित्व संघ र प्रदेश दुवै ठाउँमा हुनुपर्छ भन्दै प्रदेशमा मात्र उम्मेदवार हुने हो भने प्रतिनिधिसभामा समानुपातिक सांसद सुनिश्चित हुनुपर्ने वताएका छन् ।

यी तीन वटा सर्तमा माओवादी लचक नहुने हो भने एक्लाएक्लै चुनाव लड्ने र जितेर देखाउने उनी वताउँछन् । स्थानीय तहको चुनावको परिणामले पनि माओवादी र कांग्रेसको मत वरावर जस्तै देखिएकाले एक्लाएक्लै चुनाव लडेर पनि रुकुम पश्चिममा कांग्रेस उम्मेदवार विजयी हुने उनको दावी छ। ‘स्थानीय तहको चुनावकै रवैया देखाइए रुकुम पश्चिममा गठबन्धन हुँदैन’ उनले भने–‘हैन, मिलौँ भन्नलाई माओवादी केन्द्रले सम्मानजनक व्यवहार देखाउनुपर्छ।’

बैशाख ३० गतेको  स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रले प्राप्त गरेको मतभन्दा कांग्रेसले २ हजार ३ सय मात्र कम प्राप्त गरेको ओलीको दावी छ। निर्वाचनमा माओवादीले ३६ हजार मत पाउँदा कांग्रेसले ३३ हजार मत प्राप्त गरेको थियो । ‘बदर मत हेर्ने हो भने मत उस्तैउस्तै छ । त्यसैले तालमेल नभए प्रतिस्पर्धा गर्न तयार छौँ’– ओलीले भने।

२५ वर्षअघि माओवादीले लगाएको घाउ मेट्न पनि यस पटक कांग्रेसलाई सघाउनु पर्ने उनी वताउँछन् । सभापति ओलीका पिता हरिभक्त ओलीलाई माओवादीले मारेको विषयमा उनको यो भनाई आएको हो।

यता, माओवादी भने बढीमा एक प्रदेशसभा सदस्य कांग्रेसलाई दिएर चुनावी गठबन्धन गर्ने तयारीमा छ। तर, कांग्रेसको स्थानीय नेतृत्व त्यो स्वीकार्न तयार छैन । रुकुम पश्चिमका माओवादी संयोजक गोविन्द रोका भने आपसी तालमेलमै चुनावमा जाने तयारी भइरहेको बताउँछन् । 

कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार लुम्बिनीमा प्रतिनिधिसभातर्फ २६ निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले ६, नेकपा एसले ३, जसपा र राष्ट्रिय जनमोर्चाले एक–एक सिट मागेका छन् । कांग्रेसको दाबी १५ क्षेत्रमा छ । 

जनार्दन शर्मा

विशेष