News अपराध सुरक्षा

राष्ट्रपति कार्यालय अगाडि निहारिकाद्वारा आत्मदाहको प्रयास

राष्ट्रपति कार्यालय अगाडि निहारिकाद्वारा आत्मदाहको प्रयास

एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले राष्ट्रपति कार्यालय अगाडि आत्मदाहका प्रयास गरेकी छन् । न्याय माग्दै अनसन वसिरहेकी उनले शुक्रबार राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर आत्मदाह प्रयास गरेकी हुन् ।

उनी आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि पुगेकी थिइन् । त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । 
 

यसअघि न्यायको माग गर्दै सिंहदरबार दक्षिण ढोका अगाडि आमरण अनशन गरिरहेकी निहारिकालाई प्रहरीले पक्राउ गरेको थियो । महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले केही महिनादेखि नै आमरण अनशन बस्दै आएकी थिइन् ।

सरकारले यसअघि आफूसँग गरेको ५ बुँदे सहमति पालना गर्नुपर्ने माग गर्दै पछिल्लो पटक उनी सरकारद्वारा जारी प्रतिबन्धित क्षेत्रमा अनशन बसेकी थिइन् । शुक्रबार प्रहरीले उनलाई दूधे छोरासहित पक्राउ गरेको थियो।

निहारिकासँग सरकारले ५ बुँदे सहमतिपछि उनले अनशन तोडेकी थिइन्। तर उक्त सहमति पालना नभएको उनको आरोप छ। त्यसपछि उनी फेरि अनशनका लागि सडकमा आईन। उनी न्याय माग्दै साढे दुई वर्षदेखि काठमाडौंमा डेरामा वसेकी छिन् ।

आफू १७ वर्षको हुँदा एक व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको उनको आरोप छ। दोषीमाथि कारबाही र आफूलाई न्याय हुनुपर्ने उनले माग गर्दै आएकी छन् । यसअघि उनी माइतीघर मण्डलामा छोरोलाई साथमै लिएर अनशन वसेका वेला सरकारसँग ५ वुँदे सहमति भएको थियो। 

यस्तो थियो घटनाक्रम

१७ वर्षकी हुँदा निहारीका जनकपुरधाममा डेरा बसेर होटल म्यानेजमेन्टको पढाइ गर्दै थिईन। उनी सँगै पढ्ने क्षिरेश्वरनाथ नगरपालिका–३ की साथी पनि थिईन। उनकै आग्रहमा एक दिन उनी साथीको घर पुगिन। त्यही बेला साथीको दाइ शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर आफूलाई बलात्कार गरेको निहारिकाको भनाइ छ। 


त्यतिबेला उसले खिचेको फोटो देखाएर आफुलाई दवाव दिएको उनको भनाई छ। १४ दिनपछि हिम्मत जुटाएर आफुले परिवारका सदस्यलाई बताएको उनी वताउँछिन् । ‘महिनावारी रोकिएपछि समाजमा इज्जत जाने डरले परिवारले गर्भपतन गराउन भनेको थियो। तर, उनले मानिन् । त्यसपछि परिवारको पनि बहिस्कारमा परिन।

०७७ भदौ ५ गते छोरा जन्मियो। उनले यस विषयमा अदालतमा मुद्दा पनि दिईन। ०७८ साल माघ २४ गते जिल्ला अदालत धनुषाले शिवराज श्रेष्ठको पक्षमा फैसला गरेपछि ०७८ फागुन १२ गते राजपूतले उच्च अदालत धनुषामा जिल्ला अदालतको फैसला उपर मुद्दा दायर गरेकी थिइन्। तर, अदालतले पेशीसमेत नतोकिएको उनको भनाई छ। त्यसपछि उनी काठमाण्डौमा आएर अनसन वस्न थालेकी हुन।

निहारिकाले बच्चाको डिएनए टेस्ट, उच्च अदालतमा पेशी तोकी बच्चा र आमालाई सुरक्षित गरिदिनुपर्ने, मुद्दाको पुनः अनुसन्धान हुनुपर्ने, फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरू, न्यायाधीशमाथि पनि छानबिन हुनुपर्ने र बच्चाको लालनपालन हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुरा राज्यले सुनिश्चित गरिदिनुपर्ने उनको माग छ।

आत्मदाह निहारिका राजपुत

विशेष